मनाङ । मनाङ जिल्लामा यस वर्ष स्याउ उत्पादन पाँच प्रतिशतले बढ्ने भएको छ । स्याउको फूल फुल्ने समयमा अनुकुल वातावरण भएका कारण उत्पादन राम्रो भएको जिल्ला कृषि विकास कार्यालय मनाङले जनाएको छ ।
कृषि कार्यालयका बागवानी विकास अधिकृत रामचन्द सेढाइँका अनुसार जिल्लाका विभिन्न भागमा गरि मनाङमा १६५ हेक्टर Ôेत्रफलमा स्याउ खेती गरिए पनि करिब ९१ हेक्टरमा स्याउ फलेको छ । गत वर्ष फुल फुल्ने समयमा मौषम राम्रो नहुँदा १० प्रतिशतले उत्पादन घटेको थियो । ‘यसवर्ष मौसम राम्रो भयो र नयाँ लगाएको विरुवाले पनि उत्पादन दियो ।’, वागवनी विकास अधिकृत सेढाइँले भन्नुभयो, ‘यस वर्ष ५ प्रतिशतले उत्पादन बढ्ने अपेक्षा गरेका छौं ।’
मनाङमा हाल व्यवसायिक खेतीका रुपमा आधुनिक तरिकाबाट स्याउ खेती सुरु गरिएपछि उत्पादन बढ्न थालेको कृषि कार्यालयले जनाएको छ । एग्रो मनाङ प्रा.लि.का निर्देशक पाल्तेन छोपाङ गुरुङले ७३५ रोपनी क्षेत्रफलमा ६० हजार स्याउका विरुवाहरु रोप्नुभएको छ । उक्त स्याउ विरुवा रोपेको ५ महिनामै फलेको थियो । १६ करोड लगानीमा गरिएको स्याउ खेतीबाट बार्षिक १५ लाख किलो स्याउ उत्पादन गर्ने लक्ष्य लिइएको छ । इटाली र सर्भियाबाट प्रति विरुवा एक हजार पाँच रुपियाँका दरले खरिद गरि रोपिएको थियो ।
नाङलाई स्याउको मोडेल जिल्लाको रुपमा विकास गर्ने लक्ष्य लिइएको गुरुङले बताउनुभयो । बगैंचामा गाला, फुजी र गोल्डेन प्रजातीका बिरुवा रोपिएको छ ।पुरानो बगंैचामा गोल्डेन डेलिसियस, रेड तथा रोयल डेलिसियस नामका स्याउ उत्पादन हुँदै आएको छ । मनाङको ताचै, बगरछाप, चामे, थान्चोक, पिसाङ, दानाक्यु, तिल्चे लगायतका दर्जनौं ठाउँमा स्याउ उत्पादन भएको छ ।
गत वर्ष ७३० मेट्रिकटन स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउको बिक्रीबाट कृषकले झण्डै एक करोड ८० लाख कमाइ गरेका थिए । मनाङमा उत्पादित अधिकांश स्याउ आन्तरिक रुपमा नै खपत हुने गर्दछ ।
मनाङमा उत्पादन हुने स्याउमध्ये २२५ मेट्रिकटन जिल्लामा नै खपत हुन्छ भने २ सय ४० मेट्रिकटन जिल्ला बाहिर निर्यात हुने गरेको छ । मनाङमा उत्पादन हुने स्याउमध्ये बाँकी ३ ८५ मेट्रिकटन घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ । मनाङमा उत्पादन हुने स्याउलाई अन्य जिल्लामा पु¥याउन सकेमा मनाङले बार्षिक पाँच करोड कमाउन सक्ने कृषि विकास कार्यालय मनाङले जनाएको छ ।उत्पादित अधिकांश स्याउ जिल्लामा आउने पर्यटक, कर्मचारी र अन्य व्यक्तिहरूले नै किन्ने गर्दछन् भने केहीमात्रामा लमजुङको बेँसीसहरकोसाथै चितवन, पोखरा र काठमाडौँमा बिक्रीका लागि पठाइने गरिन्छ । जिल्लाका १३ गाविसमध्ये ११ गाविसमा स्याउ उत्पादन हुने गर्दछ भने विकट नार र फू गाविसमा भने स्याउखेती गरिँदैन । मनाङको ताचै, बगरछाप, चामे, थान्चोक, पिसाङ, दानाक्यु, तिल्चे लगायतका दर्जनौं ठाउँमा स्याउ उत्पादन भएको जिल्ला कृषि बिकास कार्यलयका प्राविधिक सहायक महेश पाख्रिङले बताउनुभयो ।
ढुवानी समस्याका कारण स्याउ खेतीबाट स्थानीयवासीले खासै आम्दानी लिन सकेका छैनन । सडक पुगेपछि बाहिरी जिल्लामा समेत निर्यात हुने आशामा रहेका किसानहरू पटक पटक सडक अबरुद्ध हुँदा निराश बनेका छन् । मनाङको स्याउ स्वादिलो भएपनि ढुवानी समस्याका कारण बजारमा चीन र भारतबाट ल्याइएका स्याउ बिक्री हुने गरेको छ ।