इलाम । जैविकमैत्री जिल्लाका रूपमा विकास गर्ने रणनीति लिएपछि इलाम मा रासायनिक विषादीको प्रयोग घट्दै गएको पाइएको छ ।जिल्ला कृषि विकास कार्यालयले गत वर्षदेखि रासायनिक विषादीको प्रयोग घटाउने नीति तथा कार्यक्रम सुरू गरेपछि विषादीको प्रयोग घट्दै गएको हो । आर्थिक बर्ष २०७१÷०७२ मा ९५२ लिटर झोल र ७३३ किलोग्राम रासायनिक विषादी प्रयोग भएकोमा गत आर्थिक बर्षमा ९०७ लिटर झोल र ६९७ किलोग्राम विषादी मात्र प्रयोग भएको कार्यालयले जनाएको छ ।रासायनिक विषादी प्रयोग घट्दै गएपछि जैविक विषादीको प्रयोग आफै बढ्दै गएको कार्यालयले जनाएको छ ।
आर्थिक बर्ष २०७१÷०७२ मा ४६८ किलोग्राम झोल र ४५२ किलोग्राम धुलो जैविक विषादी प्रयोग भएको थियो भने गत बर्ष ५१३ लिटर झोल र ४८८ किलोग्राम जैविक विषादी प्रयोग भएको कार्यालयका प्राविधिक सहायक केशरबहादुर मग्रातीले बताउनुभयो ।
रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्य र जमिनको उर्वराशक्तिमा ह्रास आउने भएकाले यसको प्रयोग कम गर्दै जैविक विषादीको प्रयोगलाई बढवा दिन थालिएको उहाँको भनाइ छ ।विभिन्न जडीबुटी र झारपातबाट तयार गरिएको जैविक विषादी अहिले जिल्लाका चिया बगानमा समेत प्रयोग गर्न थालिएको छ ।
कार्यालयले करिब दुई वर्षअघि फिक्कल र गोदक गाविसमा गरेको परीक्षणमा मानिसको रगतमानै रासायनिक विषादीको असर देखिएपछि कार्यालयले रासायनिक विषादीको प्रयोग घटाउने नीति अवलम्वन गरेको छ ।
एकैचोटी रासायनिक विषादीको प्रयोग निषेध गर्न समस्या भएकाले विस्तारै घटाउँदै लगेर शून्यमा झार्नुपर्ने मग्रान्तीले बताउनुभयो । जैविक विषादीको माग निकै उच्च भए पनि कार्यालयले हाल अदुवा, धान, मकै, गहुँको बीउ उत्पादनका लागि मात्र जैविक विषादी वितरण गर्दै आएको छ ।