काठमाडौँ। इजरायलको आधुनिक कृषि प्रणालीको आकर्षणले त्यहाँ गएर सीप सिक्ने युवाको सङ्ख्या बढ्न बढेको छ ।पढेलेखेका युवा इजरायल गई कृषिको तालिम लिइ नेपाल फर्केपछि व्यावसायिक खेतीमा लागेका छन्। साना किसान विकास बैंकले इजरायलका विभिन्न पाँचवटा कलेजसँग द्विपक्षीय सम्झौता गरेसँगै इजरायल गएर युवाले सीप सिक्ने र नेपालमा आएर यो क्षेत्रमा जम्ने अवसर पाएका हुन्।अति न्यून शुल्कमा इजरायलमा सीप सिकेर फर्केपछि यहाँ सरकारले समेत लगानी गरिदिने आकर्षणले युवामा कृषि क्षेत्रप्रतिको मोह बढेको हो। दश महिनाको तालिम अवधिभर तालिमकै क्रममा मासिक रु डेढ लाखसम्म ती युवाले कमाउँछन्।बैंकको ‘सिकाइ र कमाइ’ कार्यक्रम अन्तर्गत हालसम्म एक हजार १२५ जना इजरायल गई सीप सिकेर फर्किएका छन्। सन् २०१३ देखि पहिलो वर्ष २०४, दोस्रो वर्ष ५११ र तेस्रो वर्ष ४३० जना गएको थिए।
सन् २०१६ मा चौथो पटक ४३० जना पठाउने अन्तिम तयारी भइरहेको छ। यो वर्ष छनौट भएका अक्टोबरको पहिलो साताभित्र गइसक्ने बैंकले जनाएको छ।
व्यावसायिक कृषिबारे इजरायलमा गएर सीप सिक्न युवा युवतीको उत्तिकै आकर्षण बढेको साना किसान बैंकका प्रबन्धक झलेन्द्र भट्टराईले बताए।
इजरायलमा कृषिको सीप सिक्न युवाको आकर्षण बढेसँगै मापदण्ड पनि कडा बनाउन थालिएको छ। पहिला साना किसानका छोराछोरी भनेर दश जोड दुई अध्ययन गरेकालाई लिने गरेको इजरायलले अहिले कृषि सम्बन्धी कोर्ष गरेको हुनुपर्ने मापदण्ड बनाएको छ।
अहिले काठमाडौँ विश्वविद्यालयबाट तीन हप्ताको तालिम लिएर इजरायल गएर १० महिना तालिम पश्चात नेपाल फर्केपछि पुनः एक हप्ताको तालिम लिएपछि मात्र प्रमाणपत्र पाउँछन्।
कृषि प्रधान देश नेपालमा ६५ प्रतिशत जनता कृषिमा आवद्ध छन् तर पढेलेखेका युवाको यो क्षेत्रमा रुचि छैन। क्षेत्रफलका हिसाबले सानो मुलुक इजरायलले थोरै जग्गामा आधुनिक तरिकाले गरेको व्यावसायिक खेती विश्वमै चर्चित मानिन्छ।
कसरी पुग्छन् इजरायल
साना किसान सहकारी संस्थामा आवद्ध भएका दश जोड दुई (प्लस २) गरेका २० देखि ३० उमेर भित्रका युवायुवतीले आवेदन दिन पाउँछन्। उनीहरुमध्येबाट विभिन्न चरणको छनोट गरिन्छ।
अन्तर्वाता इजरायलीले नै लिन्छन्। पास भएकाले मेडिकल रिपोर्ट र पुलिस रिपोर्ट पेस गरेपछि यहाँ तीन हप्ता तालिम लिएपछि मात्र इजरायल जान पाउँछन्।
इजरायलमा हप्ताको एक दिन पढ्ने र पाँच दिन फिल्डमा प्राक्टिकल गर्नुपर्छ। इजरायलको कृषि राम्रो भएकाले उताबाट फर्केपछि, कृषिको आधुनिकिकरण, टेन्ट हाउसमा कसरी खेती गरिन्छ, मुलुकलाई कृषिको आधुनिकीकरण कसरी गर्ने भन्नेबारे सीप सिक्ने अवसर मिल्छ।इजरायलबाट फर्केर आएका युवाले झापा मोरङ, मकवानपुर, धादिङ, नवलपरासी र चितवनमा व्यावसायिक कृषिमा लागेको बैंकले जनाएको छ।