नेपालगञ्ज। यस क्षेत्रका कृषि अनुसन्धानकर्ताले अदुवा भण्डार, अदुवा धुने र धान रोपाईका लागि नयाँ प्रविधिको विकास गरेको जनाएका छन् ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा, बाँकेले अदुवा भण्डार तथा धुने र धान रोपाईमा प्रयोगका लागि नयाँ प्रविधिको विकास गरेको जनाएको छ ।
नयाँ प्रविधिको विकासले अदुवा भण्डार गर्न र अदुवा धुन सहज हुनेछ भने धान रोपाईका लागि विकास गरिएको लाईन मार्करले धान रोपाई गर्न सरल हुने केन्द्रले बताएको छ ।अदुवा भण्डारका लागि घरभित्र काँचो ईटाको भकारी बनाएर अदुवा भण्डार प्रविधिको विकास गरिएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेका क्षेत्रीय निर्देशक केशवबाबु कोइरालाले बताउनुभयो । यसरी भडार गर्दा अदुवा चारदेखि पाँच महिनासम्म राम्रोसँग भण्डार गर्न सकिने र भण्डार ह्रासमा पनि कमी आउने कोइरालालो बताउनुभयो ।अदुवाको व्यवसायिक खेतीका लागि महत्वपूर्ण मानिएको मध्यपश्चिममा अदुवा भण्डारण प्रविधिको विकासले कृषकलाई सहज र लाभ पुग्ने क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको भनाई छ ।
केन्द्रले अदुवा धुने मेशिनको पनि विकास गरेको छ । उक्त मेशिनले प्रतिघण्ठा पाँचदेखि सात क्विण्टल अदुवा धुने क्षमता राख्ने केन्द्रका निर्देशक कोइरालाले जनाउनु भयो । सोही प्रकारले केन्द्रले गत आर्थिक वर्षमै धान रोपाईका लागि लाइन र्माकरको विकास गरेको थियो । लाईनमा मिलाएर धान रोप्नु कृषकलाई शुरुमा झण्झटिलो छ तर, लाईन मिलाएर धान रोप्नका लागि विकास गरिएको उक्त लाईन र्माकर प्रविधिको प्रयोगबाट धान उत्पादनमा वृद्धि हुने कृषि वैज्ञानिकको दाबी छ ।समान दूरीमा लाइन मिलाएर धानका बेर्ना रोप्न सक्यो भने बिरुवाले मलजल र प्रकाशको सही सदुपयोग गर्न सक्छ । जसले उत्पादकत्व बृद्धिमा सकारात्मक भूमिका खेल्छ ।’– केन्द्रका निर्देशक कोइरालाले भन्नुभयो,–‘लाइन मार्करको विकासले यसैलाई सघाउँछ ।’
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराले अदुवा र धान रोपाईका लागि विकास गरेको नयाँ प्रविधिहरु कृषकहरूको घर–घरमा पु¥याउने तयारी भइरहेको निर्देशक कोइरालाले बनाउनुभयो ।
उहाँले यी प्रविधिका बारेमा विभिन्न माध्यमबाट कृषकलाई जानकारी गराउने योजना बनाईएको जनाउँदै कृषकहरुले विकास गरिएका यी आधुनिक प्रविधिको प्रयोग गर्ने आशा ब्यक्त गर्नु भयो ।