ताप्लेजुङ। ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अदुवाको माउ (बुढी) बिक्री नहुँदा किसान तथा व्यवसायी मारमा परेका छन् । नेपाली अदुवा निर्यात हुँदै आएको देश भारतले आयातमा प्रतिबन्ध लगाएपछि अदुवा अन्यत्र बिक्री हुने सम्भावना नरहँदा किसान तथा व्यवसायी मारमा परेका हुन् ।
नेपाली अदुवाको मुख्य बजार रहेको छिमेकी मुलुक भारतले अदुवामा मिसावट र हानिकारक विषादीको मात्रा भेटिएको भन्दै डेढ साता अघिदेखि आयातमा प्रतिबन्ध लगाए पछि किसान तथा व्यवसायी मारमा परेका हुन् । अदुवाको माउ बिक्री गर्ने सिजनमै बजारमा बिक्री नहुँदा ताप्लेजुङसहित पूर्वका पाँचथर, इलाम, तेह्रथुम लगायतका जिल्लाका किसान साथै व्यवसायी चिन्तित बनेका छन् ।
असार महिनाको अन्त्यदेखि निस्कन थालेको माउको सिजन सकिन लाग्दा मुख्य बजारले नै किन्न छाडेको व्यवसायीको भनाइ छ । अदुवाको माउ भारत निकासी बन्द हुँदा किसान भन्दा पनि व्यवसायी घाटामा गएको बताइएको छ । एक व्यवसायीका अनुसार प्रायः किसानले हालसम्ममा अदुवाको माउ झिकेर स्थानीय व्यापारीलाई बिक्री गरिसकेका छन् ।ब्यापारी तथा व्यवसायीले भने सबै क्षेत्रका किसानबाट सङ्कलन गरेर गोदाममा थन्क्याएर राखेको अदुवा बिक्री गर्न लाग्दा मुख्य बजारले नै खरिद नगर्ने भनेपछि आपूmहरु मारमा परेको पाँचथर थर्पूका स्थानीय ब्यापारी सोम पोख्रेलले बताउनुभयो ।
अदुवा भारत निकासी बन्दसँगै गोदाम र राखेकै ठाउँमा कुहिन थालेकाले व्यवसायीले ठूलो घाटा बेहोर्नुपर्ने भएको पोख्रेलको भनाइ छ । यता अधिकांश किसानले भने स्थानीय व्यापारीलाई यसअघि नै बिक्री गरिसकेको बताएका छ । केही किसानले मात्रै रोपेको ठाउँबाट माउ झिक्न बाँकी रहेको बताएका छन् । ताप्लेजुङ साब्लाखुका किसान सञ्जय लिम्बूले करिव महिना दिन अघि नै बारीबाट माउ झिकेर प्रतिकेजी २५ देखि ३० रुपियाँका दरले स्थानीय ब्यापारीलाई बिक्री गरेको बताउनुभयो । लिम्बूले अघिल्लो वर्षको तुलनामा भने आधाभन्दा कम मूल्यमा अदुवा माउ बिक्री गरेको बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष प्रतिकिलो ७५ देखि ८० रुपियाँसम्म मूल्य रहेको थियो ।
लिम्बु लगायत साब्लाखुका दर्जनौ किसानले अदुवा खेती गर्ने गरेका र उनीहरु प्रायः सबैले माउ झिकेर बिक्री गरिसकेका छन् । साब्लाखु–४ का किसान अमर इधिङ्गोका अनुसार सो गाविस लगायत जिल्लाको पूर्वी क्षेत्रअन्तर्गत आँखोप, लिम्बुदिन, सादेवा लगायतमा उत्पादन हुने अदुवा स्थानीय बजार पाँचथरको थर्पु हुँदै बिर्तामोडका व्यापारीसम्म पुग्ने गरेको छ । केही वर्ष अघिदेखि छिमेकी मुलुक भारतीय बजारबाट अदुवाको माग हुन थालेपछि जिल्लाको पूर्वी क्षेत्रका किसानहरुले व्यवसायिक रुपमा अदुवा खेती गर्दै आएका छन् ।
यता अदुवा खेती राम्रो जग्गा नभई पाखाबारीमा समेत गर्न सकिने र खाद्यान्न बालीको तुलनामा तेब्बर भन्दा बढी फाइदा हुने भएपछि पछिल्लो समय जिल्लाका अधिकांश गाविसका किसानले अदुवाको व्यवसायिक खेती गर्दै आएका छन् । ताप्लेजुङ नगरपालिकासहित जिल्लाको चाक्सिबोटे, थुम्बेदिन, सिनाम, नाङ्खोल्याङ, थेचम्बू, साब्लाखु, लिम्बुदिन, आम्बेगुदिन, आङ्खोप लगायत दुई दर्जन बढी गाविसको करिव दुई सय ५० हेक्टर क्षेत्रफलमा अदुवाखेती गर्ने गरिएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।
कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत उमेश राउतका अनुसार जिल्लामा बिऊका लागि कम्तिमा ५० हेक्टर र उपभोग गर्ने वा खाइनको लागि करिव एक सय ८० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिँदै आएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट बिऊ नौ सय मेट्रिकटन र खाइन दुई हजार ७०० मेट्रिकटन अदुवा उत्पादन हुने राउतले बताउनुभयो ।
कृषि विकास कार्यालयले चालू आर्थिक वर्षमा अझ खेती र उत्पादन बढ्न सक्ने अनुमान गरेको छ । अदुवाखेतीका लागि एक हजार ६०० मिटर भन्दा कम उचाइ भएको परिलो क्षेत्रलाई अनुकुल मानिन्छ भने यस जिल्लामा रेसा भएको (नसे) र रेसा नभएको (बोसे) जातको अदुवा खेती गर्ने गरेको बताइएको छ ।