काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिको आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरणमा जोड दिनुभएको छ ।
व्यवस्थापिका–संसद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसैवर्षदेखि किसानका लागि पेन्सन कोष खडा गरिने र कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरणमा विशेष ध्यान दिइने बताउनुभयो ।सरकारले आव २०७३÷७४ को बजेट वक्तव्यमार्फत किसानलाई पेन्सन उपलब्ध गराउने घोषणा गरेको हो ।उहाँले कृषि बिमामा ७५ प्रतिशत अनुदान दिइने र पशुपक्षी, माछा र मौरीपालन विस्तार गरिने पनि बताउनुभयो । सहकारी खेतीमार्फत चक्लाबन्दीमा खेती गर्नेलाई कृषि सामग्री, मल, बीउ, प्राविधिक सेवा, तालिम र यान्त्रिकीकरणमा अनुदान दिने सरकारको नीति रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कृषकको आयआर्जन बढाउन राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारिएका सिक्टा, रानी जमरा कुलरिया र बबई सिँचाइ आयोजनालाई आवश्यकताअनुसार बजेट विनियोजन गरिने उहाँले बताउनुभयो ।कुल गार्हस्थ्य उत्पादनको करिब ३३ प्रतिशत योगदान रहेको कृषि क्षेत्रसँग झन्डै दुईतिहाइ जनता आबद्ध छन् ।