दाङ । दाङमा वार्षिक ३ हजार २ सय ७६ मेट्रिकटन माछा जिल्ला वाहिरबाट आयात हुने गरेको जिल्ला कृषि विकास कार्यालय दाङले बताएको छ । अहिलेको बजार भाउअनुसार यो झण्डै रू. ६५ करोड ५२ लाख मुल्य बराबरको हो ।
अहिले जिल्लामा एक सय ७५ हेक्टर क्षेत्रफलमा व्यवसायिक माछापालन भइरहेको र त्यसबाट वार्षिक ६ सय ६१ मेट्रिक टन मात्रै माछा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय मत्स्य विकास अधिकृत सुरेशकुमार भुजले बताए । ‘जिल्लालाई माछामा आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ’, उनले भने, ‘तर अझै समय लाग्छ, ९० प्रतिशतभन्दा वढी माछा वाहिरबाटै आयात हुन्छ ।’
दाङ जिल्लालाई अबको पाँच वर्षभित्रमा माछा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि विकास कार्यालयले मत्स्य उत्पादन विशेष कार्यक्रम पनि सञ्चालन गरेको छ । सो कार्यक्रमअन्तरगत गएको आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा गरी १८ हेक्टर क्षेत्रफलमा ७५ ओटा नयाँ जलाशय निर्माण गरिएको छ । सरकारले अनुदानमा सञ्चालन गरेको मत्स्य उत्पादन विशेष कार्यक्रममा कृषकहरुको आकर्षण पनि वढ्दो रहेको मत्स्य विकास अधिकृत भुजले बताए । ‘दाङ आफैँमा व्यवसायिक माछापालनको लागि अत्यन्त सम्भावित जिल्ला हो, त्यसमा पनि सरकारले यो व्यवसाय गर्नेहरुलाई अनुदान दिएपछि झनै कृषकहरुको आकर्षण वढेकोछ ।’
माछा उत्पादन विशेष कार्यक्रमअन्तरगत अहिले सरकारले प्रतिहेक्टर जलायश निर्माणका लागि कृषकहरुलाई ३ लाख रुपैयाँ अनुदान दिदैँ आएको छ । आर्थिक वर्ष २०६८÷६९ देखि सञ्चालन भएको उक्त कार्यक्रममा शुरुका वर्षमा प्रतिहेक्टर जलाशय निर्माण गर्न १ लाख रुपैयाँ अनुदान दिएपनि पछिल्लो समयमा यो कार्यक्रमलाई अझ प्राथमिकता दिदैँ अनुदान रकम ३ लाख बनाएको अधिकृत भुजले बताए । सो कार्यक्रमअनुसार गएको आव २०७२/७३ मा जिल्लामा जलाशय निर्माणका लागि रू. १ करोडभन्दा वढी लगानी भएको उनले जानकारी दिए । जसमा सरकारी अनुदान र उपभोक्ताको ५०/५० प्रतिशत लगानी छ ।
गएको आवमा जिल्लाको मत्स्य विकास विशेष कार्यक्रमअन्तरगत मत्स्य विकास निर्देशनालय हरिहर भवन काठमाडांैको सहयोग तथा जिल्ला कृषि विकास कार्यालय दाङको अनुगमन तथा प्राविधिक सहयोगमामामा धर्ना, डुरुवा, नारायणपुर नगरपालिका, तुलसीपुर नगरपालिकाका साथै लमही नगरपालिका, गोवरडिया, गंगापरस्पुर, सिसनिया गाविसका विभिन्न ठाउँमा नयाँ माछापोखरी विस्तार गरिएको छ । यी क्षेत्रहरुलाई माछापालनका लागि पकेट क्षेत्र समेत घोषणा गरिएको छ । जिल्लामा वार्षिक खपत हुने करीव चार हजार मेट्रिक टन माछा यहाँ उत्पादन हुन नसकदा बाँके, वर्दिया, कपिलवस्तुको रुपन्देही जिल्लालगायतबाट माछा आयात गर्ने गरिएको छ । पछिल्लो समयमा दाङका करीव चार सय कृषकहरु व्यवसायिक माछापालन व्यवसायमा लागेपनि माछाका भुरा उत्पादनका लागि जिल्लामा ह्याचरी नहुँदा बाँके, वर्दिया, कपिलवस्तुलगायतबाट माछाका भुरा आयात गर्न कृषकहरु वाध्य छन् ।