कावासोती । नवलपरासीका ब्यबसायिक पशुपालक किसानहरुले साइलेजको प्रयोग गर्न थालेका छन् । घाँस बढी भएको समयमा घाँसलाई सिन्की(साईलेज) बनाएर हिउँदमा त्यसको प्रयोग गर्न थालेका छन् ।
जिल्ला पशु सेवा कार्यालयले मातहतका सेवा केन्द्र मार्फत साइलेज बनाउने तालिम सञ्चालन गरेपछि किसानहरु यसतर्फ आकर्षित भएका हुन् । मेशिनद्वारा काटिएको हरियो घाँसलाई गुन्दु्रक बनाइ पशुका लागि तयार पारिइएको एक किसिमको आहारा नै साइलेज हो । यसरी तयार पारिएको साइलेज खुवाएमा पर्याप्त पौष्टिक तत्व पाइने र पशुको चाँडै वृद्धि विकास हुने पशु चिकित्सकहरु बताउँछन् । मकैको डाँठ तथा घाँसलाई टुक्रा पारेर प्लाष्टिक तथा सिमेण्टले बनाएको खाल्डोमा राख्ने र त्यसलाई पुरेपछि ३ महीनाको अवधिमा साईलेज तयार हुने गदर्छ । परालको तुलनामा यसको प्रयोगले राम्रो प्रतिफल प्राप्तभएको किसानहरु बताउँछन् ।
हिउँदमा घाँस समेत प्रशस्त मात्रामा नपाउने हुदाँ परालको विकल्पमा यसलाई लिने गरिएको छ । जिल्लाको डण्डाका गाईपालक किसान कलाखर आचार्यले साईलेज खुवाउँदा पशुहरुको दूध उत्पादनमा वृद्धि भएको बताए । यसको प्रयोगले पराल र अन्य दानाको प्रयोगमा समेत कमि आएको उनको भनाई छ ।