dhan_1
कपिलवस्तु । लामो खडेरीले कपिलवस्तु कृषकहरुले लगाएको धान मर्न थालेको छ । खेतमा पानी अभावले धान खेतमा धाँजा फाटेका छन् । पानी कै अभावमा सप्रिन नसकेर धान बाली सुक्न थालेपछि किसानहरु चिन्तित छन् । गत साउन ११ यता जिल्लामा पानी परेका छैन । चर्को घामले गर्दा खेतको माटो सुकेर फुटेको छ । सिचाई सुबिधा जिल्लाको १२ प्रतिशत क्षेत्रमा मात्र रहेको हुँदा बाँकी ८८ प्रतिशत धानखेती आकाशे पानीकै भरमा पर्ने गरेको छ ।
आकाशे पानीमा निर्भर कृषकहरू सप्रिरहेको धानलाई चाहिने बेलामा बर्षा नभए पछि चिन्तित बनेका हुन । गत असार अन्तिम साता भाडाको पम्मसेटबाट सिंचाई गरी बल्लतल्ल ६ बिघा खेतमा धान रोपेका महुवा गाबिस– ३ का कृषक मुन्नु पासीले खेडेरीले धानजति सुकाएको पीडा सुनाउनुभयो ।
खेतीका लागि ६ हजार रुपिया लगानी गरेका र पानी कै अभावमा धान खेतीमा घाटा लाग्ने दाबी गर्नुभयो । साउन ११ मा आएको भीषण बर्षाले उहाँको पुुरै धान खेत डुबेको थियो । त्यस यता बर्षा नभए पछि धान सुकेर पहेलो भएको छ । ‘यस बर्ष लागनी समेत डुब्ने भयो, चामल समेत किनेर खाने स्थिति देखिएको छ ’ पासीले भन्नुभयो । महाराजगंग– १ का कृषक सलाउद्दीन मुसलमानले खडेरीले धानको बोट पुरै सुकेको जानकारी दिनुभयो । कुल १५ हजार लगानी गरी आफनो १० बिगहा खेतमा धान लगाएका उहाले लगानी बराबरको पनि धान उत्पादन हुने आश मारि सकेको बताउनुभयो ।कोपवाका किसान भभुते थारुले पनि दाना पसाउने बेलामा पानी नपाएर धान सुक्दै गएको दुःखेसो पोख्नुभयो । लामो समयदेखि बर्षा नभए पछि खेतमा रहेको धान ढड्न थाले पछि उहाँ अहिले निकै चिन्तित बन्नुभएको छ ।घरमा रहेका धान चामल बेचेर बल्लतल्ल पैसाको जाहो गरी गत साउनमा ४ बिघा खेतमा उहाले धान रोपाई गर्नुभएको थियो । ‘ खेतमा पसाउन लागेका धान जति सबै डढन लागी सक्यो, एक हप्ता भित्र पानी नपरे सारा लगानी खेर जान्छ , ’ निराश हुदै उहाले भन्नुभयो ‘ सिंचाईको कुनै ब्यवस्था छैन, अब त भगवान मालिक ’ । पम्पसेटबाट गरिएको सिंचाई एक हप्तामै सुक्ने गरेको महुवाका किसान भुलई यादवको भनाई छ । सिंचाईका लागि कुनै ब्यवस्था छैन, पम्पसेटले सिंचाई गर्दा पनि साध्यै लाग्दैन ’ उहाले निराश हुदै भन्नुभयो ।
जिल्लाकै प्रमुख बालीका रुपमा रहेको धान खेतीको उत्पादनमा पानी नपरे पछि निकै कमी आउने कृषकहरु बताउँछन् । कृषि कार्यालयले पनि खडेरीले धान बालीको उत्पादनमा कमी आउने बताएको छ । कृषि प्राबिधिकहरू पानी बिना धानको उत्पादन हुनै नसक्ने दाबी गर्छन् ।
धान र पानीको सम्बन्ध नङ र मासुको जस्तै हुने भएकाले धानलाई सप्रन खेतमा २ देखि ३ सेन्टिमिटर पानी चाहिन्छ । धानमा गाज आउने सयम भएकाले पानी कै अभावमा त्यसमा अहिले ठूलो असर परेको प्राविधिकहरू बताउछन् । खडेरीले जिल्लाका दक्षिणी भेगमा बढी असर गरेको कृषि कार्यालयका बाली विकास अधिकृत अरबिन्दमणि त्रिपाठीले जानकारी दिनुभयो ।
दक्षिण्ी गाबिसहरू हरनामपुर, महराजगंज, बहादुरगंज, पकडी, गणेशपुर, लगायतका गाबिसमा ३० देखि ५० प्रतिशत सम्म उत्पादनमा कमी आउने प्रारंम्भिक अनुमान गरिएको छ । अहिलै कै अवस्था आकलन गर्दा धानमा अनुमान गरे भन्दा २७ दशमलव ५ प्रतिशत कम उत्पादन हुने त्रिपाठीको अनुमान छ ।यस बर्ष ७२ हजार हेक्टरमा धान खेती गरिएकोमा प्रति हेक्टर ३ दशमलव ४५ का दरले २ लाख ४८ हजार ५ सय उत्पान हुने अनुमान गरिएको थियो । हप्ता दिन अझै पानी नपरे उत्पादनमा भारी गिरावट आउने कृषि कार्यालयका प्रमुख राकेश ओझाले बताउनुभयो । ‘ खडेरीले धानमा ठुलो असर परेको छ , एक हप्ता अझै पानी नपरे स्थिति भनै बिग्रने देखिएको पक्का छ ’ उहाले भन्नुभयो । लामो समयको खडेरीले जिल्लाको कृषि उपजका साथै बर्षभरी खाने धानबाली नष्ट भएको भन्दै राजनितिक दलहरुले कपिलवस्तुलाई सुख्खाग्रस्त जिल्ला घोषणा गरि किसानलाई राहत तथा क्षतिपूर्ति दिन माग गर्दै आएका छन् ।