नेपालगन्ज। सरकारले भारतीय चल्ला, कुखुरा र अण्डा आयातमा कडा प्रतिबन्ध लगाए पनि अवैध आयात भने रोकिएको छैन ।
प्रहरीले नेपाल–भारत सीमा नाकामा भारतीय कुखुरा र चल्लाको आयातमा कडाइ गरिएको जनाउँदै आए पनि पटक–पटक ठूलो संख्यामा चल्ला भित्रिसकेपछि पक्राउ गर्ने गरेको छ ।

भारतबाट भइरहेको अवैध चल्ला, कुखुरा र अण्डाको आयातले आफूहरुलाई समस्या भएको नेपाली कुखुरा व्यवसायीहरुले गुनासो गरेका छन् ।कुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादुर खत्रीले अवैध रूपमा निरन्तर भित्रिरहेको भारतीय चल्ला, कुखुरा र अण्डाका कारण नेपालगन्ज र आसपासका व्यवसायीलाई ठूलो समस्या परेको बताए ।

उनले भारतीय कुखुरा र चल्ला सस्तो पर्ने भएकाले अवैध आयात नरोकिएको दाबी गरे । अवैद्य आयात रोक्न माग गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

अवैध तरिकाले आयात गरिएका कुखुरा र अण्डा नेपालगन्जका अधिकांश होटल र घर–घरमा पु¥याइने गरिएकाले समग्र व्यवसाय नै प्रभावित बनेको कुखुरा व्यवसायी संघ बाँकेको ठहर छ ।

पशु क्वारेन्टाइन नेपालगन्ज कार्यालयले अवैध चल्ला भित्रिन नदिन कडाइका साथ लागेको जनाए पनि खुला सीमानाका कारण रोक्न कठिनाइ भएको बताएको छ । मूल सडकबाटै पनि धेरैले ल्याउन खोज्ने गरेकाले त्यस्तो गर्न नदिएको र पक्राउ गर्दै नष्ट गर्दै गरेको सो कार्यालयको भनाइ छ ।