काठमाडौँ। धान फुल्ने बेला पानी नपरेकाले चिन्तित किसान पुनः वर्षा भएपछि खुसी भएका छन् । धान फुल्ने बेला धानबालीलाई आकाशे पानी आवश्यक मानिन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबार रातिदेखि सक्रिय मनसुनले नेपालका मध्य र पूर्वी क्षेत्रमा अझै दुईतीन दिनसम्म पानी पार्नेछ । राति तथा बिहान मौसम बदली भई वर्षा हुनसक्ने र दिउँसो घाम लाग्नसक्ने देखिएको छ । यसले किसानलाई राहत पु¥याउनेछ ।
हुन त यो अवधिमा यसपटक नेपालका सबै क्षेत्रमा अनुमान गरेकोमा ७० प्रतिशत वर्षा भएको छ । नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय हुन्छ ।
जलवायु परिवर्तनको असरले गर्दा नेपालमा मनसुनको अवधि सेप्टेम्बरबाट अक्टोबरसम्म जाने गरेको बताइन्छ । एक दशक अघिसम्म सेप्टेम्बर दोस्रो सातासम्म सक्रिय रहने मनसुन पछिल्ला समयमा अक्टोबरसम्म पुग्ने गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।