काठमाडौं। नेपालगञ्जबाट खसीबोका लिएर काठमाडौं आउँदै गरेको ट्रकमा तीनवटा खसी काटिएको अवस्थामा फेला परेका छन् ।

पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले नागढुंगामा गरेको चेकजाँचका क्रममा बा ५ प १९४७ नम्बरको ट्रकमा तीनवटा खसी टाउको काटिएको अवस्थामा फेला परेका हुन्। ट्रकका खसी नेपालगञ्जका व्यापारी युनिस कुरेसीले ल्याएका हुन्।

प्रस्थान गर्ने विन्दुमा रहेको क्वारेन्टाइन कार्यालयले चेकजाँच गरेर स्वस्थ्य भएको प्रमाणपत्र दिएपछि मात्र खसीबोका ढुवानी गर्न पाइन्छ। पशु चिकित्सकका अनुसार ढुवानीका क्रममा लामो दूरीको थकानका कारण ट्रकमा राखिएका खसीबोका, कुखुरा, राँगा मध्ये केही आफैं मर्छन्।

क्वारेन्टाइन कार्यालय काठमाडौंले नागढुंगाबाट गत वर्ष ३ हजार ५ सय कुखुरा, ३ सय ५० वटा हाँस, ४५ वटा खसी र राँगा तथा ११ वटा बंगुर ट्रकभित्र मरेको अवस्थामा फेला पारेको थियो। कार्यालयका प्रमुख डा. पर्शुराम भुषालले लामो दूरीका कारण ट्रकमा राखिएका केही खसीबोका मर्नु सामान्य भएपनि काटिएको अवस्थामा फेला पर्नु भने असामान्य भएको बताए।

उनले ती खसी किन बीच बाटोमा काटिए भन्ने बारेमा अनुसन्धान भइरहेको बताए। क्वारेन्टाइन कार्यालयले विरामी भएका खसीका कारण अन्य खसीबोका पनि विरामी भएको सन्देश जाने र भाउ नआउने डरले  व्यापारीले विरामी खसी बीच बाटोमा काटेको हुन सक्ने अनुमान गरेको छ।

कार्यालयले अनुसन्धान पूरा नभएपनि व्यापारी युनिस कुरेसीलाई भने ५ हजार रुपैयाँ गरिवाना तिराएर छोडिदिएको छ।