डा.विष्णु विलास अधिकारी
सह -प्राध्यापक, लमजुङ कृषि क्याम्पस

शुक्ष्म जैविक मल भनेको के हो ?
माटोमा पाइने र खाली आँखाले देख्न नसकिने एक कोषीय शुक्ष्म जीवलाई जीवाणु वा ब्याक्टेरिया भनिन्छ । यी जीवाणुहरु थरी-थरीका हुन्छन । कुनै बोट बिरुवामा रोग ल्याउने खालका, हानिकारक हुन्छन भने कुनै जीवाणुहरु मलखाद कुहाई बिरुवालाई खाद्यतत्व प्रदान गर्ने खालका हुन्छन । कुनै शुक्ष्म जीवाणुहरुले वायुमण्डलमा भएको नाइट्रोजनलाई स्थिरिकरण गरि माटो मलिलो बनाउन सहयोग पुर्याउछन । खासगरी, कोशेवालीका गिर्खामा पाइने ब्याक्टेरियाहरुले वायुमण्डलको नाइट्रोजनलाई स्थिरिकरण गरि माटोमा मिलाएर माटो मलिलो बनाउन सहयोग गर्छन । यसकारण कृषकहरुले धान, मकै, गहुँको अलावा माटो मलिलो बनाई राख्न आफ्नो खेत बारीमा कोशेवालीहरु जस्तैः भटमास, बोडी, केराऊ, चना, रहर, मुसुरो नियमित रुपमा लागाउनु राम्रो हुन्छ ।
हाल, माटोमा वा कोशेवालीका जरामा पाइने शुक्ष्म जीवाणुहरुको संकलन गरि केन्द्रीय माटो विज्ञान प्रयोगशाला, खुमलटार, ललितपुरमा उपयुक्त वातावरण दिएर बढाइन्छ| सो जिवाणुहरुलाई संयोजन गरि शुक्ष्म जैविक मलको रुपमा २०० ग्रामका प्याकेट तयार गरिन्छ र बजारमा वितरण गरिन्छ । बजारमा पठाउँदा शुक्ष्म जीवाणुलाई बढी प्रांगारिक तत्व भएको धुलो माटो ३ भाग र गोल वा अंगारको धुलो १ भागमा खुदो वा भेलीको गुलियो संगै मिसाएर पठाइन्छ । यी प्याकेटमा कम्तीमा पनि ३० देखि ५० प्रतिशत चिस्यान कायम गर्नुपर्छ । केहि शुक्ष्म मलहरु सख्खर वा चिनीपानीको गुलियो झोलमा मिसाएर १ लिटरका बोतलमा इ.एम को नामले पनि बजारमा पाइन्छन । जुन झोल खेतबारीमा सिधै छर्न वा कम्पोष्टमल कुहाउन वा दानामा मिसाएर पशुपंक्षीलाई खुवाउन पनि प्रयोग गरिन्छ । शुक्ष्म जीवाणुमल विभिन्न प्रकारका हुन्छन । हालसम्म पाइने जीवाणुमलहरुमा राइजोवियम, एजोटोब्याक्टर, एजोस्पाइरिलियम, एल्गल जीवाणुमल, फ्रान्किया जीवाणुमल, एजोला आदि हुन् । राइजोवियम जीवाणुमलको प्रयोग दालबालीहरुमा प्रशस्त गर्न सकिन्छ भने एजोटोब्याक्टर, एजोस्पाइरिलियम जीवाणुमल अन्नवालीमा प्रयोग गर्न सकिन्छ । धानबालीमा एजोला, ब्लु ग्रीन एल्गी, एजोस्पाइरिलियम जीवाणुमल बढि उपयोगी पाइएको छ ।
शुक्ष्म जैविक मलवाट हुने फाइदाहरु
शुक्ष्म जैविक मलहरु रासायनीक मल वा गोठेमलको तुलनामा सस्तो र प्रयोग गर्न सजिलो हुन्छ । कोसेवालीको जरामा पाइने गिर्खाहरुमा राइजोवियम नामक जीवाणुहरु पाइन्छन । यी जीवाणुहरुले आफुलाई प्रश्रय दिने कोसेबालीवाट शक्ति लिइ वायूमण्डलमा भएको ७८ प्रतिशत नाइट्रोजनबाट स्थिरिकरण गरि जरामा गिर्खा बनाएर बस्छन् । यस प्रकार राइजोवियमले स्थिरिकरण गरेको नाइट्रोजनलाई नाइट्रोजन इन्जायमको (Enzyme) सहयोगले एमोनियामा परिवर्तन गर्छ र सो एमोनिया सो कोशेवालीलाई उपलब्ध हुन्छ । कोशेवालीका गिर्खालाई निचोरेर आउने पानीको झोलको रंगको आधारमा ब्याक्टेरिया उपयोगी भए नभएको अनुमान गर्न सकिन्छ । रातो गुलावी, कलेजी वा प्याजी रंगको झोल भएमा प्रभावकारी गिर्खा र सङग्लो पानी आएमा अप्रभावकारी गिर्खा भन्ने बुझ्नुपर्छ । अनुसन्धानबाट पत्ता लागे अनुसार राइजोवियम मलको प्रयोगले कोसेबाली अनुसार १०० देखि ३०० किलो नाइट्रोजन मल प्रति हेक्टर एक सिजनमा स्थिरिकरण गरि माटोमा थप गर्न सक्छ । यस मलको प्रयोगले मुसुरो, चना, भटमास, बदाम बालीका साथै क्लोभर, बर्सिम जस्ता घाँस बालीको उत्पादन करिब ३० देखि ६० प्रतिशत सम्म बढेको पाइएको छ ।
कोसेबाली बाहेक अन्नवालीमा प्रयोग हुने शुक्ष्म जीवाणुमल एजोस्पाइरिलियम वा एजोटोब्याक्टरको प्रयोगले ५ देखि ३० प्रतिशत उत्पादन बढेको पाइएको छ । माइकोराइजा नामक शुक्ष्म जीवाणुमलको प्रयोगले माटोमा भएको फस्फोरसलाई सजिलै घुलनशील बनाइ बिरुवालाई उपलब्ध गराउन मदत गर्छ । फस्फोरस मलको प्रभावकारी उपयोगले बालीनाली एवं फलफूलको उत्पादनमा बृद्धि हुन्छ । सैप्रोफाइटस् नामको शुक्ष्म जीवाणुमल, कम्पोष्टमल वा अन्य प्रांगारिक पदार्थहरु छिटो कुहाउन प्रयोग गरिन्छ । सुक्ष्म जैविक मलहरु वातावरण मैत्री हुन्छन । यी मलहरुले रासायनीक मलखादको कुप्रभाववाट वातावरणलाई जोगाउन मदत गर्छन । यी मलखाद प्रांगारिक खेतीमा प्रयोग गरिन्छन् जसबाट उत्पादित फलफूल, तरकारी, अन्नवाली बढी स्वस्थकर, पोषिला र विषादीरहित हुन्छन् र उत्पादन खर्च समेत कम लाग्ने हुन्छन । शुक्ष्म जीवाणु मलको प्रयोगले माटो स्वस्थकर बन्छ र माटोमा भएका जीवहरु जस्तैः गडयौलाहरुको संख्या बढाउन मदत पुर्याउछ । केहि जीवाणुमलको प्रयोगले बीउ छिटो उमार्न मदत पुर्याउनुका साथै बिरुवाका रोगबाट समेत जोगाउन सक्छन् । धानबालीमा एजोलाको प्रयोग गर्दा माटोमा ४० देखि ५० किलो नाइट्रोजन मल थप गरि माटो मलिलो बनाउन मदत पुग्छ । साथै सुक्ष्म जीवाणुमलको प्रयोगले फस्फोरस, क्याल्सियम, म्याग्नेसियम, जिंक आदि प्राथमिक तथा सुक्ष्म खाद्य तत्वको उपलब्धतामा समेत मदत पुग्छ । एस्परजिलस, पेनिसिलियम, ट्राइकोडर्मा जस्ता सुक्ष्म जीवाणुमलको प्रयोगले प्रांगारिक पदार्थहरु छिटो कुहाउन मदत गर्छन ।
शुक्ष्म जीवाणुमल कसरी प्रयोग गर्ने ?
धेरैजसो शुक्ष्म जीवाणुमलहरु कोेसेबाली वा अन्नबालीको बीउको उपचार गर्न प्रयोग गरिन्छ । शुक्ष्म जीवाणुमलले बीउ उपचार गरेर बीऊ छरेमा, बीऊ उपचार नगरेको तुलनामा १५ देखि २० प्रतिशत उत्पादन बढेको पाइएको छ । बजारमा चिनी, चुरोट झै यो मल सामान्य कोठाको तापक्रममा राख्न मिल्दैन र यसलाई न्यूनतम ३ देखि ४ डीग्री सेन्टीग्रेड तापक्रममा फ्रिजमा राख्नुपर्छ, अन्यथा बढी तापक्रममा ब्याक्टेरियाहरु मर्न सक्छन । एउटा २०० ग्रामको शुक्ष्म जीवाणुमलको प्याकेटले बिउ उपचार गर्दा करिब ३०० देखि ४०० एम. एल. चिनी पानी उमालेर सेलाएको झोलमा शुक्ष्म जीवाणुमलको धुलो राखी १० देखि १२ किलो बीऊलाई मोल्नुपर्छ । बीऊ मोली सकेपछि छहारीमा सुकाइ ओभाएपछि मात्र बीऊ छर्नुपर्छ । उपचार गरेको बीऊलाई कडा घाममा सुकाएको खण्डमा ब्याक्टेरियाहरु मर्ने सम्भावना रहन्छ । बीऊ उपचारको अलावा केहि शुक्ष्म जीवाणुमलहरु सिधै माटोमा छर्न पनि सकिन्छ भने केहि शुक्ष्ममलले बिरुवाहरुको जरा डुबाइ उपचार गरेर पनि रोप्न पनि सकिन्छ । यसकोलागि १ देखि २ किलो शुक्ष्म जीवाणुमललाई ५ देखि १० लिटर पानीमा घोलेर झोल बनाइ नर्सरीबाट उखेलेका बिरुवाका जराहरुलाई २० देखि ३० मिनेट सम्म डुबाएर रोप्न सकिन्छ । यसरी बेर्नाको उपचार गरि रोपेमा १५ देखि २० प्रतिशत उत्पादन बढ्न सक्ने कुरा परिक्षणबाट प्रमाणित भैसकेको छ ।
शुक्ष्म जीवाणुमल कहाँ र कसरी पाइन्छ ?
नेपालमा शुक्ष्म जीवाणुमल केन्द्रीय माटो विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा तयार गरिन्छ । मल २०० ग्रामका पोकामा बजारमा बिक्री हुन्छ । आफ्नो आवश्यकता अनुसारको परिमाणमा मल किन्न पाइन्छ । शुक्ष्म जीवाणुमल बाली अनुसारको स्ट्रेन छनौट गरि प्रयोग गर्नु पर्छ । मसुरो, बोडी, केराउ, मास, खेसरी, वकुल्ला सिमी, रहर, बदाम आदिको लागि राइजोवियम लेगुमेनोसिरम, भटमास बालीको लागि राइजोवियम जापोनिकम (Rhizobium japonicum) , सिमीकोलागी राइजोवियम फेसिआली (Rhizobium phaseoli) प्रयोग गरिन्छ । अन्न बाली जस्तैः धान, मकै, गहुँ, कोदो, जौ, तोरी, आलु, केरा, कफी, उखुकोलागी एजोटोब्यक्टर, एजोस्पाइरलियम र फस्फेट सलुवलाइजरको प्रयोग गरिन्छ ।

(लेखकः लमजुङ क्याम्पस, सुन्दरवजार, लमजुङमा सह प्राध्यापक पदमा कार्यरत हुनुहुन्छ । )