इलाम । रासायनिक मलको प्रयोग घटाउने उद्देश्यले थालिएको भकारो सुधार कार्यक्रम प्रभावकारी देखिएको छ ।तीन वर्षदेखि जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको कार्यक्रमअन्तर्गत गाईभैँसी, बाख्रालगायत विभिन्न पशुको मलमूत्रलाई व्यवस्थित ढङ्गले जोहो गरेर खेतीबारीसम्म पुर्‍याउन कृषकलाई प्राविधिक र पूर्वाधार विकासमा सहयोग गरिरहेको छ ।
रासायनिक मलकै तुलनामा पशु मलमूत्रले उब्जनी हुने र स्वस्थकर हुने भन्ने चेतना किसानमा आउन थालेपछि सो कार्यक्रमप्रति आकर्षण बढेको हो । ‘आफ्नो गोठ सुधार गरेपछि खेर गइरहेको गाईभैँसीको गोबर र गहुँतको प्रभावकारिता बढ्दो रहेछ,’ जीतपुरका प्रेमसागर बरालले भने । गाविसले कृषि विकास कार्यालयसँग समन्वय गरेर कृषकलाई अनुदानसहित भकारो सुधार कार्यक्रम सञ्चालन गरेको छ । बालीमा लाग्ने किरा नियन्त्रण गर्ने र माटोको उर्बराशक्ति बढाउने मुख्य उद्देश्य लिएर कृषि र गाविसको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको जीतपुर गाविसका सचिव युवराज घोसाइले बताए ।
गाईभैँसीको गोबर र पिसाबलाई सङ्कलन गरेर रासायनिक मलको सट्टामा प्रयोग गर्न सकिने कृषि प्राविधिक बताउँछन् । यसका लागि भकारोलाई घामबाट जोगाउन छाप्रोको व्यवस्था गर्नुपर्ने हुन्छ । जीतपुरका ४२ घरधुरीलाई गोठ पूर्वाधारका निम्ति अनुदान सहयोग दिइएको छ । अगुवा किसानलाई लक्षित गरेर सो अभियान आगामी वर्षबाट गाउँभरि सञ्चालन गर्ने र अर्गानिक गाउँको रूपमा विकास गर्ने गाविसको दीर्घकालीन योजना रहेको सचिव घोर्साले बताए ।
जिल्लाका माइपोखरी, इलाम नगरपालिका, नामसालिङ, एकतप्पा, सूर्योदय नगरपालिका, गोदकलगायतमा यसअघि करीब ५०० जना कृषक सो कार्यक्रमबाट लाभान्वित भइसकेका छन् । गत वर्ष कार्यालयले ३० किसानलाई सेवा दिएको कृषि विकास कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्ले बताए । कार्यालयले गड्यौले मल उत्पादनमा पनि सघाउँदै आएको छ ।