जुम्ला ।विदेशी स्याउको तुलनामा जुम्लाको स्याउ आकर्षक देखिँदैनन् तर, जव जुम्लाको स्याउलाई मुखमा हालिन्छ अनि थाहा पाइन्छ त्यसको खास स्वाद । अर्गानिक जुम्ला स्याउको पहिलो गाँसमै तपाइले भन्नुहुनेछ क्या गज्जपको स्वाद, स्याउ होस त यस्तो । तर दु:खको कुरा यति मिठो र अर्गानिक हुँदाहुँदै पनि कर्णालीको स्याउ गाइभैसीलाई खोले दिनुपर्ने अवस्था छ ।
कर्णालीका विभिन्न जिल्लामा अर्गानिक स्याउ उत्पादन हुँदै आएको छ । जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्लालगायत जिल्लामा उत्पादन हुने स्याउमा बिषादी हुँदैन । पछिल्लो समय काठमाडौं, पोखरा, बुटवल ,नारायणघाट लगायतका मुख्य शहरमा जुम्ली अर्गानिक स्याउको माग बढ्दै गएको छ ।
बिस्तारै बजार बढ्दै गएपनि सडकको अवस्था, भण्डारण तथा व्यावसायिक उत्पादन प्रविधि लगाएतका कारण स्वादमा उत्कृष्ट हुँदाहुँदै पनि जुम्लाको स्याउ ओझेलमा पर्दै आएको छ ।
तेसो त नेपालमा स्याउको ९० प्रतिशत आपूर्ति भारत र चीनबाट हुने गरेको छ । देशभर खपत हुनेमध्ये आठ प्रतिशत स्याउ जुम्लामै फल्छ । तर बजारमा यसको हिस्सा भने एक प्रतिशत पनि छैन । विषादीको प्रयोग नभएको जुम्ला स्याउले अहिले भारतीय र चिनियाँ स्याउसँग प्रतिष्पर्धा गर्नुपरेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका १० का किसान कलिमान विष्ट भन्नुहुन्छ बाह्रै महिना भारतीय र चिनियाँ स्याउ बिक्री गर्ने व्यापारीसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो छ । हेर्दा चिटिक्कको हुने नभएकाले धेरै उपभोक्ताले विदेशकै स्याउ खोज्ने उहाँले बताउनुभयो ।
जुम्लाको स्याउ काठमाडौं पठाउन थालेको ४ बर्ष भैसकेको छ । यो बर्ष भदौको दोस्रोे हप्तातिर काठमाडौं पठाएको जुम्ली स्याउ अहिलेसम्म जम्मा ६ टनको कारोबार भएको छ । काठमाडौंका साथै बुटवल, नेपालगन्ज, सुर्खेत, पोखरा, नारायणघाट र बिराटनगर पनि जुम्ली स्याउको बजार हो ।
जुम्ला स्याउ पूर्णत प्राकृतिक हुने भएकाले भारतीय स्याउको तुलनामा चमक देखिदैन । मुख्य चाडपर्व दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै अगार्निक स्याउ काठमाडौं पठाएको हो । यसवर्ष कर्णालीमा लामो समय सम्म परेको खडेरी र ढुवानी समस्या, उत्पादनमा आएको कमीले गर्दा उपभोक्ता मूल्य केही बढी भएको बढेको बिस्ट बताउनुहुन्छ ।
जुम्लाबाट सिँधै काठमाडौं पठाएको यस्ता स्याउमा स्वास्थ्यमा हानी हुने कुनैपनि विषादीको प्रयोग गरिएको छैन । नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जुम्लाको स्याउको स्वाद पनि उत्कृष्ट मानिन्छ । जुम्लाको स्याउ भदौबाट कात्तिकसम्म मुख्य बजारमा आउने गर्छ । किसान बिस्ट भन्नुहुन्छ बोटबाट टिप्दा डोकोमा हालेर ओसार्नुपर्ने भएकाले स्याउमा चोटहरु लाग्छन् तर उपभोक्तालाई बुझाउन सकिएन ।
जुम्लाका किसान र ब्यापारीले अनेक समस्या सामना गर्दै स्याउ ल्याउँछन् । यहाँ न त्यो स्याउको भण्डारन गर्ने ठाउँ छ, न त बेच्ने कुनै संयन्त्र नै ।जुम्लाको स्याउ अघिल्ला अघिल्ला बर्ष मान्छेले खाएर रहेको कुहिने, गाइलाई खुवाउने गरिएको थियो । तर अहिले बिस्तारै बजार पाउन थालेको छ । यो वर्ष एक लाखदेखि एक लाख ५० हजार बोट लगाइएको छ । केही वर्षमा उत्पादन बढी भएपछि मुल्य घटने सम्भावना पनि उत्तिकै छ ।
स्याउ खेती गर्ने किसानलाई भने सरकारले खासै अनुदान दिएको छैन । अनुदान भनेको त्यही कार्टुन खरिद गर्न मात्र हो । कार्टुन खरिद गर्दा अन्यत्र भन्दा सस्तो पर्ने गरेको छ । कार्टुन पनि किसानलाई पुग्नेगरी भने दिइएको छैन । एक जनालाई २०÷२२ वटा कार्टुन दिने गरेको छ ।
जुम्लामा बढीमा ७० रुपैयाँ किलोमा स्वादिलो स्याउ पाईन्छ तर स्थानीय ढुवानी र कार्टुन खोजेर प्याकिड गरी काठमाडौं सम्म पठाउदा यातायात भाडाले नै स्याउको मूल्य दोब्बर भईसकेको हुन्छ । स्वदेशी स्याउलाई प्रबद्र्धन गर्ने प्याकिड प्रबिधि नहुँदा अरु शहरबाट भारतीय र चिनियाँ स्याउ ल्याईएको कार्टुन खोजेर लगी प्याकिड गर्नु परेको छ । यसो गर्दा मूल्य झन् बढ्छ ।
हवाइजहाजमा महँगो भाडा तिरेर बजार खोज्दै ल्याउन ढुवानी गर्न सबै किसानको पहुँच छैन ।त्यसैले जुम्लामा उत्पादित स्याउ किसानका बारीमै कुहिन्छन् । ढुवानीका लागि सडक पक्की नहुनु, किसानले आफैं बजारसम्म पु¥याउन नसक्नु, सरकारले अनुदान नदिनु जस्ता कारण जुम्लाको स्याउ वर्षेनी कुहिएर खेर जान्छ । सरकारले चाहेमा नेपाली बजारमा स्याउ भारत र चीनबाट ल्याउनुपर्दैन ।नेपाली स्याउले नै बजारको माग पुरा गर्न सक्छ । त्यसका लागि सबै स्याउलाई उचित भण्डारन र बजारमा पुर्याउन भने आवश्यक छ ।