ताप्लेजुङ। युरोप, अमेरिकाबाट छुर्पीको माग उच्च भएपछि मूल्य पनि बढेको छ। दुईचार वर्षअघिसम्म मुस्किलले प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री हुने गरेको चौंरीको दूधबाट उत्पादित छुर्पीको मूल्य अहिले एक हजार रुपैयाँ पुगेको छ । दुईचार वर्षको अन्तरालमै छुर्पीको मूल्य झन्डै तेब्बरले बढेपछि यसका पारखी चकित छन् ।
हिमाली भेगका घाँसे मैदानमा चर्ने चौंरीको शुद्ध दूधबाट बनाइने ताप्लेजुङको छुर्पी अत्यन्तै स्वादिलो र स्वास्थ्यका लागि समेत फाइदाजनक भएकै कारण नेपालमात्र नभई जापान, अमेरिका, हङकङ, बेलायतलगायतका मुलुकमा समेत माग बढिरहेको सम्बन्धित व्यवसायीको भनाइ छ । बढ्दो माग तर उत्पादनमा कमी आएका कारण छुर्पीको मूल्य बर्सेनि उकालो लागेको ताप्लेजुङका छुर्पी व्यवसायी ग्युर्मे शेर्पा बताउँछन् ।
ताप्लेजुङको ओलाङचुङगोलामा चौंरी पालेर दूध प्रशोधन गरी छुर्पी बनाउँदै आएका निमा शेर्पा एक किलो छुर्पी बनाउन सरदर २२ लिटर दूध लाग्ने बताउँछन् । उनका अनुसार एक किलो छुर्पी बनाउँदा दुई किलो घिउ पनि निस्किन्छ । त्यसबाट कृषकलाई थप फाइदा हुने उनी बताउँछन् । ताप्लेजुङका विकट हिमाली गाँउमा छुर्पी प्रशस्त बन्छ । तर, यातायातको असुविधा र महँगो ढुवानी खर्चका कारण सदरमुकामको बजारसम्म छुर्पी पुर्‌याउन समस्या हुने गरेको उनको भनाइ छ ।
ताप्लेजुङकै पहिचानको रूपमा रहेको छुर्पीको मूल्य बर्सेनि उकालो लागेपछि जिल्ला पशु सेवा कार्यालयले पनि चौंरीपालन व्यवसायमा युवालाई आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेको छ । हिमाली भेगमा चौंरी स्रोत केन्द्र स्थापना गर्ने, निःशुल्क चौंरी वितरण गर्ने, चौंरी बिरामी पर्नासाथ पशु चिकित्सक पठाउने लगायतका कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला पशु सेवा कार्यालयका निमित्त प्रमुख लक्ष्मणकुमार श्रेष्ठ बताउँछन् ।
जिल्लाका ओलाङचुङगोला, पापुङ, ललेप, कालिखोलालगायतका क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए । प्रशस्त चरन भएका यी क्षेत्रमा चौंरीपालन हुँदै आएको छ ।
कुकुरलाई खुवाउन अमेरिका पुग्छ छुर्पी
व्यवसायीका अनुसार ताप्लेजुङमा चौंरीको शुद्ध दूधबाट छुर्पी उत्पादन गरिने भएकोले उच्च गुणस्तरको मानिन्छ । यसैकारण अमेरिकामा यसको उच्च माग भएको व्यवसायी बताउँछन् । अमेरिकामा बसोबास गर्दै आएका सुमनकुमार श्रेष्ठले नेपालमा उत्पादित छुर्पी कुकुरका लागि उपयुक्त आहारा भएको पत्ता लगाएर बजार बिस्तार गरेपछि छुर्पी निर्यात सुरु भएको पूर्वी पहाडी जिल्लाबाट अमेरिका पठाउन छुर्पी संकलनमा सक्रिय रूपनारायाण दाहालले बताए ।
काठमाडौंको मनराम हिमालय एन्डिग्राफमार्फत अमेरिकामा श्रेष्ठले सञ्चालन गरेको व्यापारिक कम्पनी हिमालयन डग क्युमा छुर्पी जाने गरेको उनको भनाइ छ । माग उच्च रहे पनि निर्यात बढाउन भने नसकिएको दाहालले बताए ।
उनका अनुसार मनराम हिमालय एन्डिग्राफमार्फत ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुम, धनकुटालगायतका जिल्लाबाट वार्षिक अढाइ लाख किलो छुर्पी अमेरिका पुग्छ । तर, माग भने ६ लाख किलोभन्दा धेरै रहेको उनको भनाइ छ ।