कञ्चनपुर । वन कार्यालय कञ्चनपुरले जङ्गली हात्तीको झुन्डबाट बालीनालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराएको छ ।
गत वर्ष हात्तीले बालीनालीमा क्षति पु¥याएका त्रिभुवनबस्ती, परासन, रैकवार विचवा र वाइसेविचवाका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको हो । पहिलो चरणमा ८४ र दोस्रोचरणमा ६५ जनालाई क्षतिको मूल्याङ्कनका आधारमा रु पाँच हजार र रु १० हजारका दरले यस वर्ष क्षतिपूर्ति रकम उपलब्ध गराएको वन कार्यालयका प्रमुख शिवप्रसाद शर्माले बताउनुभयो ।“हालसम्म रु सात लाख रकम हात्तीले क्षति पु¥याएका किसानलाई क्षतिपूर्तिबापत उपलब्ध गराएका छौँ” – उहाँले भन्नुभयो ।
पीडित किसानको निवेदन, कृषि विकास कार्यालयले मूल्याङ्कन गरेको क्षतिको विवरण, लालपुर्जा, नागरिकता, प्रहरीको मुचुल्काका आधारमा क्षतिपूर्तिका लागि क्षेत्रीय वन निर्देशनालयमा सिफारिस गरी रकम उपलब्ध गराउने व्यवस्था रहेको उहाँले बताउनुभयो ।हात्तीको झुन्डले विशेष गरी धान फल्ने बेला, उखु उत्पादन हुने बेला र गहुँ पाक्ने बेला यहाँ बढी क्षति पु¥याउने गरेको छ ।
भारतीय दुधुवा नेसनलपार्कबाट छिर्ने जङ्गली हात्तीको झुन्डले यहाँका पुनर्वास नगरपालिका, दोधारा चाँदनी नगरपालिका, बाइसे विचवा, रैकवार विचवा, शङ्करपुर, देखतभूली र कृष्णपुर नगरपालिका क्षेत्रमा बढी क्षति पु¥याउने गरेको छ । रासस