वुहान (चीन)। मध्य चीनको हुवेई प्रान्तमा खडेरीका कारण करिब दुई लाख ३७ हजार मानिसमा खानेपानीको अभाव भएको हुवेईका स्थानीय अधिकारीले बताएका छन् ।सामान्यतया यहाँ पर्ने गरेको औषत वर्षाको करिब १० प्रतिशत मात्र वर्षा यस क्षेत्रमा भएको स्थानीय अधिकारीले एक प्रेस विज्ञप्ति जारी गरी शनिबार बताए ।
हुवेईको उत्तरपश्चिम क्षेत्रमा अवस्थित सियान र इचाङ सहरमा वर्षा नहुँदा यहाँका खानेपानीका स्रोतहरु सुकेपछि पानीको अभाव देखिएको हो ।
उक्त सहर र वरपरका क्षेत्रमा गरी करिब दुई लाख ३७ हजार नागरिक र करिब दुई लाख चौपायालाई खानेपानीको अभाव भएपछि प्रान्तीय सरकारले न्यूनतम तिर्खा मेट्ने प्रयासस्वरुप ट्याङ्कर र गाडीमा पानी बोकेर उक्त क्षेत्रमा पुर्‍याउन थालेको छ ।
यसैबीच, खडेरीका कारण एक लाख २३ हजार हेक्टर खेतीयोग्य जमिनमा लगाइएको खेती पूर्णरुपमा काम नलाग्ने भएपछि उक्त क्षेत्रले यसवर्ष खाद्यान्न सङ्कटको समेत सामना गर्नुपर्ने देखिएको छ । सिन्ह्वा