चितवन। चिउरी पनि कम फल्न थाल्यो , ठुला ठुला काँक्रा हराउँदै गए, किन यस्तो भयो ? केही जानकारी नै भएन । धेरै फलाउन रासायनिक मल र विषादी राख्न खोजेको हो ? यो काम गर्नु फाईदाजनक हो वा होइन ? जस्ता स्थानीयको मनमा खेलेका कृषि र वातावरणसँग सम्बन्धिच जिज्ञासाहरु शान्त पार्न भरतपुरबाटै टोली दाहखानी गाविसको उपरदाङगढी पुगे र यी जिज्ञासाको उत्तर दिए ।
दिगो कृषिका क्षेत्रमा सक्रिय नेपाल पर्मा कल्चर समूहले प्राङ्गारिक कृषिमा संलग्न जिल्लाका किसान र कृषि विज्ञहरुको टोलीलाई लिएर पैदलयात्रा गर्दै चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढी पुगेको थियो । कृषि विश्व विद्यालयका उपप्रध्यापक र विद्यार्थी पनि टोलीमा थिए । त्यसैले स्थानीय किसानले मन खुलाएर जिज्ञासा राखेका थिए ।
‘हामीले अरु ठाउँमा के उत्पादन हुने गरेको त्यही मात्रै सिको गर्नुको साटो यहाँको माटो हावापानी सुहाउँदो के उत्पादन हुन्छ त्यसमा जोड् दिनु पर्छ । यहाँ जे उत्पादन हुन्छ त्यो उब्जाए बेच्न सजिलो, पैसा पनि आउने हुन्छ’ प्राङ्गारिक कृषिका क्षेत्रमा सक्रिय फुलवारीका किसान चन्द्र अधिकारीले सुझाव दिए ।
स्थानीय हावापानी सुहाउँदो र रैथाने बीउबाट हुने उत्पादनलाई मल विषादीको पनि बढी आवश्यकता नपर्ने उनले बताए । आवश्यक परेमा रासायनिक मल विषादी प्रयोग नगरेर रैथाने झारपात र वस्तुबाट रोग किरा नास गर्ने औषधि बनाउन सकिने उनले अनुभव राखे ।
नेपाल पर्मा कल्चर समूहका अध्यक्ष ऋषि अधिकारीले हाम्रा आवश्यकताहरु पुरा गर्नका लागि पृथ्वीलाई नोक्सन हुने कामहरु गर्न नहुने भनेर समूहले प्राङगारिक कृषिका साथै दिगो विकासको अवधारणालाई सघाउने अभियान चलाउँदै आएको जानकारी दिए । विकट मानिएका गाउँहरुमा पुगेर स्थानीयसँग अन्तक्रिया गर्दा सुखद परिणाम आउने उनले बताए ।
चितवन जिल्ला कृषि विकास कार्यालय रत्ननगर स्रोत केन्द्रका स्रोत व्यक्ति शिवराज पौडेलले दाहखानीको उपरदाङगढी क्षेत्रमा अहिले यातायातको सहज सुविधा नभएका कारण तरकारी बालीका बीउ उत्पादन कार्यक्रमलाई जोड् दिनु उपयुक्त हुने सुझाव दिए । कृषिले स्थानीयको आर्थिक अवस्थामा सुधार गरे वातावरण संरक्षणमा सिन टेवा पुग्ने उनले बताए ।
स्थानीय अमरबहादुर गुरुङले आफुहरुले उपरदाङ्गढी कृषक समूह गठन गरेर व्यवसायिक तरकारी उत्पादनमा हात हाल्न लागेको जानकारी दिए । यस्तो बेलामा कृषिको उचित विधिका बारेमा जानकारी पाउँदा हर्ष लागेको बताए । नेपाल पर्माकल्चर समूहका क्षेत्रीय संयोजक वसन्त रानाभाटले समस्याहरु छन् भनेर कमै नगरी बस्न नहुने बताए । समस्याहरुलाई अवसरको रुपमा लिएर अगाडी बढ्न आफुहरुले सहयोग गर्ने उनले जानकारी दिए ।
पदयात्राको सहयोगीका रुपमा रत्ननगर उद्योग वाणिज्य संघ रहेको थियो । संघका प्रतिनिधि अनिलकृष्ण जोशीले कृषि र पर्यटनलाई रत्ननगर उद्योग वाणिज्य संघको प्रोत्साहन गर्ने नीति लिएको बताए । उपरदाङगढी पर्यटकीय क्षेत्र पनि हो । प्राङगारिक कृषिको विकास भए गुणस्तीय पर्यटनमा पनि टेवा पुग्ने उनले बताए ।
प्राकृतिक सौन्दर्यले भरी भराउन रहेका कारण प्राङगारिक कृषिलाई नै स्थानीयले अंगिकार गर्न आवश्यक रहेको काउलेका शिक्षक लोकबहादुर मगरको भनाइ थियो । उपरदाङगढीमा मात्रै नभएर चितवनको पुरै पहाडी क्षेत्रमा यस्तो अभियान चल्नु पर्ने उनको भनाइ थियो ।