चितवन। जिल्ला कृषि विकास कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७३/७४ का लागि तीन करोड तीन लाख ८२ हजार रुपैयाँ बराबरको अनुदानका कार्यक्रम बजेट सार्वजनिक गरेको छ । चालु आवका लागि स्वीकृत वार्षिक कार्यक्रमहरुको सार्वजनिकीकरणमा कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले निक्षेपित कृषि तर्फ एक करोड ७४ लाख ८२ हजार रुपैयाँ र केन्द्रीय कार्यक्रम अन्तर्गत एक करोड २९ हजार रुपैयाँ बजेट स्वीकृत भएको बताए ।
गत आर्थिक वर्ष २०७२/०७३ मा निक्षेपित कृषि तर्फ एक करोड ६९ लाख २८ हजार रुपैयाँ तथा केन्द्रीय कार्यक्रम तर्फ एक करोड ८९ लाख १९ हजार रुपैयाँ स्वीकृत भएको थियो । यस वर्ष केन्द्रीय कार्यक्रम मार्फत युवा लक्षित कार्यक्रम नआएका कारण केन्द्रीय बजेट घटेको घिमिरेले बताए ।
कतिपय कार्यक्रमहरु आउनै बाँकी रहेकोले पनि वार्षिक बजेट अझै बढ्न सक्ने घिमिरेको भनाइ थियो । चाँडै नै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा समेत बजेट आउने घिमिरेले जानकारी दिए । माटो परीक्षण गरेर खेती गर्न सकेको खण्डमा किसानहरुले फाइदा लिन सक्ने घिमिरेको भनाइ थियो । माटोमा भएको नाइट्रोजन, फस्फोरस र अम्लियपना जँचाउनुको लागि समेत घिमिरेले आग्रह गरे ।
प्राङ्गारिक मल प्रयोग गर्दै माटो सुधारमा जोड दिनुपर्ने घिमिरेले बताए । त्यसैगरी, कृषि विकास कार्यालय मार्फत पुनर्निर्माण कार्यक्रम अन्तर्गत चितवनको पहाडी गाविसलाई एक करोड ४० लाख रुपैयाँ बजेट आउने तयारीमा रहेको समेत घिमिरेले बताए । यस वर्ष जिल्ला कृषि विकास कार्यालय मार्फत उन्नत जातको विउ बिजन, स्पेयर जस्ता वस्तुहरु खरिदमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।
सुन्तलाको व्यवसायीकरण गर्नका लागि ५० प्रतिशत, व्यवसायिक केरा खेतीको लागि समेत कार्यालयबाट अनुदानको व्यवस्था गरिएको छ । त्यसैगरी, तरकारी, माछा उत्पादन, च्याउ उत्पादन, रासायनिक विषादी न्यूनीकरण, कृषि बजार तथा सूचना विश्लेषण आयोजना, खाद्य सुरक्षा तथा पोषण कार्यक्रम, गरिबी निवारण तथा रोगगारमूलक कार्यक्रमजस्ता कार्यक्रमको लागि कार्यालयबाट अनुदान प्रदान गरिनेछ ।