मोरङ। विद्यालयको कक्षाकोठामा को बस्ला ? तपार्इंलाई कसैले सोध्यो भने तपार्इं सहजै भन्न सक्नुहुन्छ विद्यार्थी बसेर पढ्छन् ।तर मोरङको कद्माहा–५ मा अवस्थित रोज इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलको हकमा भन्नुपर्दा कक्षाकोठामा विद्यार्थी र खसी संगैबसेर कक्षाकोठामा पढ्छन् ।
कक्षा पाँचसम्म रहेको सो विद्यालयमा यतिखेर अचम्मको एउटा खसी बस्छ । सो विद्यालयका प्राचार्य रामप्रसाद बर्माका अनुसार विद्यालय खुल्ने समय भएपछि खसी विद्यालय आइपुग्छ र छुट्टी भएपछि फेरि आफ्नो बासस्थानमा जान्छ ।
जामुनपारि जातको खसी अहिले ९० किलोको छ । सो खसी विद्यालय नजिकैको छिमेकीले पालेको हो । “खसी छाडा नछोड्नु भनेर खसीधनीलाई भनियो, तर टेरेनन्”, प्राचार्य बर्मा भन्छन्, ”त्यो खसीले एक वर्षदेखि निरन्तर विद्यार्थीसँग दिन बिताएको छ । खसीले विद्यार्थीलाई कुनै अप्ठ्यारो पारेको छैन ।”
प्राचार्य बर्माका अनुसार शिक्षक कक्षाकोठामा पढाउन जाँदा खसीले अटेर गरेर बस्न थालेपछि शिक्षकले पनि कक्षाकोठामा बस्न दिएका हुन् । बर्मा भन्छन्, “जति धपाएपनि फेरि कक्षाकोठामा आइहाल्छ, पशु हो, के गर्नु ?”
विद्यार्थीले समेत खसीलाई सुम्सुम्याउने, माया गर्ने गर्दछन् । सो स्कुलमा कक्षा ५ मा पढ्दै आएका रमेश उरावका अनुसार नियमित आउने-जाने कक्षाकाठामै बस्ने भएकाले विद्यार्थीले फुर्सदको बेलामा सुमसुम्याउने, मुसार्ने र माया गर्ने गर्दछन् ।
उराव मात्र होइन धेरै विद्यार्थीका लागि सो खसी माया गर्ने पशु बनेको विद्यार्थी उरावको भनाइ छ ।