चितवन । चितवनलाई आलु बीउको हब बनाउने उद्देश्य राखेर जिल्ला कृषि विकास चितवनको समन्वयमा चितवनका सरोकारवाला संघसंस्थाबीचमा एकदिने अन्तत्र्रिmया कार्यक्रम गरेको छ ।
वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७३/०७४ को पहिलो कार्यक्रम चितवनमा आयोजना गरिएको हो । आलु उत्पादक किसान, बीउ उत्पादक किसान, कृषक सहकारी, कृषक समूह, निजी व्यापारी, भेटेरीनरी, कोल्ड स्टोरका सञ्चालकलगायतलाई आलु बालीको विषयमा उचित जानकारीका साथै परामर्श दिनको लागि कार्यक्रम आयोजना गरिएको राष्ट्रिय आलु बाली विकास खुमलटारका प्रमुख हरिबहादुर केसीले जानकारी दिए ।
तराईका जिल्लाहरुमा आलु खेती गर्ने सिजन सुरु हुनुका साथै चितवनलाई आलु बीउ उत्पादनको हब बनाउने उद्देश्यले पहिलो कार्यक्रम यहाँ सञ्चालन गरिएको उनले बताए । साथै चितवन जिल्ला आलुको बीउ उत्पादनमा तराइका अन्य जिल्लाभन्दा अगाडि रहेकोले पनि चितवनमा पहिलो कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
बियाँबाट आलुको बीउ उत्पादन गर्ने र त्यसबाट खायन आलु उत्पादन गर्नका लागि यहाँका किसान, व्यवसायीहरु सक्रिय रुपमा लागिपरेकोले पनि पहिलो प्राथमिकता चितवन जिल्ला परेको उनको भनाइ छ ।
चितवनमा बीउ भण्डारणका लागि कोल्डस्टोरको सुविधा भएकोले पनि अन्य बालीजस्तै आलु बाली राम्रो रहेको उनले बताए । कार्यक्रमले चितवनमा आलुको गुणस्तरीय बीउ भनेको के हो, गुणस्तरीय बीउ उत्पादन कसरी गर्ने, भण्डारण कसरी गर्ने भन्ने बिषयमा सक्षम बनाउने प्रयास गरिएको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय आलु विकास कार्यक्रम खुमलटारका प्रमुख केसीसहित राष्ट्रिय आलु विकास कार्यक्रम खुमलटारका वरिष्ठ आलुबाली बिकास अधिकृत श्यामप्रसाद ढकाल र जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
चितवनसहित रुपन्देही, बर्दिया, कैलाली, झापा, मोरङ लगायतका तराईका जिल्ला आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । आलुको उत्पादन बढाउनका लागि उन्नत जातको बीउ उत्पादन गर्न आवश्यक रहेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय चितवनले किसानहरुका लागि ९ हजार केजी टिपिएस प्रथम पुस्ताको आलु दान ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक गोविन्दमान श्रेष्ठले जानकारी दिए ।
चितवनमा धान काटिसकेपछि आलु खेती लगाउन सुरु गरिन्छ । आर्थिक वर्ष २०७२/०७३ मा चितवनमा एक हजार आठ सय १९ हेक्टर क्षेत्रफलमा आलु बाली लगाइएको थियो भने ३५ हजार ९९ मेट्रिक टन आलु उत्पादन भएको थियो । चितवनका भण्डारा, रत्ननगर, गुञ्जनगर, शुक्रनगरलगायतका क्षेत्र आलु खेतीको पकेट क्षेत्र मानिन्छ ।अर्कोतर्फ किसानहरुले भने नेपाल सरकारले हावापानी सुहाउँदो बीउ सिफारिस गर्न नसकेकोले किसानहरु मर्कामा परेको बताएको छ । एब्लम फ्लोरा फार्मका सञ्चालक प्रकाश पन्तले रोग प्रतिरोधात्मक क्षमता भएको र बढी उत्पादकत्व बढी हुने बीउको अनुसन्धान गरी उपलब्ध गराउनुपर्ने बताए ।