चितवन । चितवनका केरा किसानहरुले सरकारले केरामा अनुदान नदिएका कारण चितवनको केराले भारत र चीनमा उत्पादन भएका केरासँग प्रतिष्पर्धा गर्न नसकेको बताएका छन् ।
उनीहरुले सरकारी अनुदान नपाएका कारण चितवनको केराले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा प्रतिस्पर्धा गर्न नसकेको जिकिर गरे । इलाका प्रहरी कार्यालय रत्ननगरमा भर्खरै सरुवा भई आएका प्रहरी नायव उपरीक्षक नारायण रञ्जीतकारको स्वागतमा आयोजित कार्यक्रममा किसानहरुले सरकारी अनुदान पाए चितवनको केराले अन्तर्राष्टिय बजारमा सजिलै प्रतिस्पर्धा गर्न सक्ने बताएका थिए ।
चितवन केरा उत्पादक संघले आयोजना गरेको कार्यक्रममा संघका प्राविधिक सल्लाहकार रामलाल श्रेष्ठले भारत र चीनसँगको उत्पादनसँग प्रतिस्पर्धा गर्नु परेकोले चितवनको केराले बजार ओगट्न मुस्किल भएको बताए । ‘भन्सार छलेर भारतको केरा चितवन आउँछ’ उनले भने, ‘त्यसकै कारण पनि भारतको केरा र नेपालमा उत्पादनको केराको मूल्यमा मेल खान नसकेको हो ।’
जग्गा भाडामा लिएर केराखेती गरिरहेका किसानहरुले अझ बढी समस्या झेलिरहेको भन्दै उनले सरकारले केरा किसानलाई केन्द्रित गरी जग्गा करार ऐन ल्याउन पर्ने बताए । कार्यक्रममा चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष यज्ञप्रसाद सुवेदीले भारतले केरा किसानलाई ९५ प्रतिशत अनुदान दिएका कारण त्यहाँ केरा उत्पादन राम्रो भएको बताए ।
‘नेपालमा किसानलाई प्रोत्साहन गर्ने सरकारी कार्यक्रम छैन’ उनले भने ‘सरकारले प्रोत्सहान गर्ने कार्यक्रम ल्याए चितवनको केराले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने छ । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय भरतपुरमा अधिकृत नोदनाथ लामिछानेले सरकारले केरालाई राष्ट्रिय कार्यक्रममा राख्न नसेको भन्दै दुःख व्यक्त गरे ।
उनले सुन्तला, अलैंची, चिया, कागतीलाई जस्तै राष्ट्रिय कार्यक्रममा समावेस गरी बजेट विनियोजन गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जीतकारले केरा व्यवसायीलाई पर्ने हरेक समस्यामा सुरक्षा दिन आफू तयार रहेको बताए ।
चितवनमा ६५० जना किसानले २ हजार पाँच सय बिघामा केराखेती गर्दै आइरहेको संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । यहाँ वार्षिक ४५ मेट्रिक टन केरा उत्पादन हँुदै आएको र वार्षिक एक अर्बको कारोवार हुने अध्यक्ष पन्तले जानकारी दिए ।