काठमाडौं। नयां संविधानमा पच्चीस भन्दा बढी मन्त्रालय नबनाउने उल्लेख गरिएको भएपनि सत्ता साझेदारीताका लागि केपी शर्मा ओली नेतृत्वको सरकारका साझेदारहरुलाई भागबण्डा पु¥याउनका लागि धेरै मन्त्रालय विभाजन समेत गरिए । त्यही विभाजनको मारमा कृषि विकास मन्त्रालय पनि प¥यो । कृषि विकास मन्त्रालय विभाजन भएपछि कृषि मन्त्री रहेका एमाओवादी नेता हरिबोल प्रसाद गजुरेलले मन्त्रालय विभाजन नगर्नका लागि हदैसम्मको प्रयास गरे ।

ओली नेतृत्वको सरकारले नङ र मासुको सम्वन्ध रहेको कृषि र पशु सेवालाई विभाजित गरे पशुपन्छी विकास मन्त्रालय गठन गरी एमालेका तर्फबाट शान्ता मानवीलाई मन्त्री र नरदेवी पुनलाई राज्य मन्त्री बनाएर मन्त्री बन्न लालायित हुनेहरु सवैको इच्छा पूर्ण बनाईदिए ।

अहिले नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिएर नेपाली कांग्रेसको सहकार्यका आफ्नै नेतृत्वमा सरकार हाँक्ने तयारी गरिरहेको छ । यही मौकामा कृषि मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रले नै लिनु पर्ने अडान माओवादी केन्द्र निकट किसान संगठन गरिरहेका छन् । भने नेपाली कांग्रेस निकट केही नेताहरु पनि कृषि विकास मन्त्रालय आफ्नो भागमा राख्न लविङ्ग गरिरहेका छन् ।

कृषि र पशु विकास मन्त्रालयलाई विभाजित रुपमा नभै एउटै मन्त्रालयका रुपमा स्थापित गरिनु पर्नेमा माओवादी केन्द्रका नेताहरुले कसरत गरिरहेका छन् । यस अघि पनि माओवादी केन्द्रकै भागमा कृषि विकास मन्त्रालय रहंदा मन्त्रालय विभाजन भएकाले त्यसलाई मर्ज गर्नु पर्ने र सो मन्त्रालय आफूहरुले नै लिनु पर्ने अडान राखिरहेका छन् ।

हुन पनि कृषि विकास मन्त्रालय विभाजन पश्चात कृषिका क्षेत्रमा काम गर्ने अधिकांश परियोजना पशुसँग पनि सम्वन्धित भएता पनि ती आयोजनाहरुको निर्देशक समितिको वैठक होस् वा अन्य नीतिगत कार्य सम्पादनका लागि समेत पशुपन्छी मन्त्रालयको अधिकारीहरु सामेल भएको देखिएको थिएन । त्यसले गर्दा समग्र कृषि र पशु सेवामा असर परिरहेको अनुभूति भएको माओवादी केन्द्रका किसान संगठनका एक नेताले बताए ।

कृषि विकास मन्त्रालयले बनाउने हरेक नीति, नियमहरु पशुपन्छी विकास मन्त्रालयसंग आधा भन्दा बढी सम्वन्धित हुने भएकाले कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालय एउटै बनाउने पक्षमा आफूहरु रहेको उनले बताए ।

त्यसैगरी कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालयमा कार्यरत नेपाली कांग्रेस निकट केही उच्च अधिकारीहरु एवं कृषि सम्वन्धि संगठनका कार्यकर्ताहरु पनि मन्त्रालय एउटै बनाउने लविङ्मा जुटिसकेका छन् ।