पोखरा। देशव्यापी रुपमा राष्ट्रिय धान दिवसको चासो र चर्चा बढ्दै गर्दा उब्जाउयोग्य धान खेत प्लटिङ हुँदै जानु गम्भीर चुनौतीका रुपमा देखिएको छ ।

पछिल्ला केही वर्षमा नै उब्जाउयोग्य धानखेत प्लटिङका माध्यमबाट घडेरीमा परिणत भएपछि खेतको क्षेत्रफल घटेर उत्पादनमा कमी आएको छ । विसं २०६८ यता बढिरहेको प्लटिङका कारण बर्सेनि धानखेतको क्षेत्रफल घटिरहेको क्षेत्रीय कृषि निर्देशनालय पोखराका वरिष्ठ बागबानी विकास अधिकृत मदनकुमार श्रेष्ठ बताउँछन् ।

“प्लटिङले उब्जाउयोग्य खेत घडेरीमा परिणत भएका छन्,” श्रेष्ठले भने– “सबै धानखेत घडेरीमा परिणत हुने स्थिति छ ।” उब्जाउयोग्य खेत प्लटिङ गर्न नपाउने गरी सरकारले नीति निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा श्रेष्ठले जोड दिए। सरकारले १२ वर्षयता बर्सेनि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको छ ।

दिवसलाई लक्षित गरी देशव्यापी रुपमा विभिन्न कार्यक्रम गर्ने गरिएको भए पनि उब्जाउयोग्य खेत प्लटिङ भइरहेको प्रति खासै चासो नदेखिएको क्षेत्रीय कृषि निर्देशनालयका कृषिप्रसार अधिकृत निलकण्ठ कोइराला बताउँछन् । पश्चिमाञ्चल विकास क्षेत्रमा आव २०७०÷७१ मा तीन लाख १६ हजार ६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा आव २०७१/७२ मा उक्त क्षेत्रफल घटेर तीन लाख ११ हजार १४७ हेक्टर पुगेको छ ।

यस्तै आव २०७२/७२ मा सो क्षेत्रफल घटेर दुई लाख ९८ हजार १९५ हेक्टर पुगेको छ । पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतका १६ जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेकका जिल्लामा धानखेतमा बढ्दो प्लटिङको प्रभाव परेको कोइरालाको भनाइ छ । नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा बढ्दो प्लटिङले बढी प्रभावित गरेको छ ।

खेतीयोग्य जमिन मासिँदै जाँदा खाद्यान्न समस्या हुने नेपाल किसान सङ्घ कास्कीका अध्यक्ष भेषराज पराजुली बताउँछन्। “खेत मासिनबाट जोगाउनु पर्छ, स्थानीय तहबाट यसको नियन्त्रण सम्भव छैन, सरकारले नै नीति तय गरी कार्यान्वयनमा ल्याउनुपर्छ,” पराजुलीले भने । ‘व्यावसायिक धानखेतीको आधारः सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ सरकारले भोलि देशभर राष्ट्रिय धान दिवस मनाउने तयारी गरेको छ ।