डडेल्धुरा। खोला तथा वनपाखामा कुहिएर जाने विषालु अल्लो आम्दानी स्रोत बनेको छ ।

हातखुट्टाले छुँदा पोल्ने विषालु अल्लो प्रशोधन गर्ने सीप सिकेपछि यो कृषकको आम्दानीको स्रोत बनेको हो ।

घना जङ्गल वा खोल्सामा ठूलोपात भएको लामो रेसादार विषालु काँडा भएको ‘सिस्नो’ प्रजातिको बिरुवाका रुपमा अल्लोलाई लिने गरिन्छ । पशु चौपायाले खान नसक्ने हुँदा यो प्राजाति प्रशोधन गरी धागो निकाल्ने गरिन्छ ।

लघुउद्यम विकास कार्यक्रमबाट अल्लो प्रशोधन र उत्पादनमा नयाँ प्रविधि पाएपछि गाङ्खेत–१ कमलटुँडा, किमाड, नेटाखान, रुपाल गाविसको पोलेक, बगरकोट गाविसको बुर्सा लगायत ठाउँका महिला अल्लोलाई आम्दानीको स्रोत बनाउन सफल भएको बताउँछन् ।

अल्लो प्रशोधन गर्ने सीप सिकेपछि आफैँले अल्लो सङ्कलन गर्ने, कुट्ने र धागो निकाल्ने गर्ने गरेको बगरकोट सिराडका प्रकाश भाटले बताए ।

अल्लो प्रशोधन गरेर निकालिएको धागाको मूल्य प्रतिकिलो एक हजारमा बिक्री हुने गरेको कृषकको भनाइ छ । जङ्गलमा खेर गइरहेको अल्लो सङ्कलन गरी प्रशोधन तथा धागो उत्पादन गरेर बिक्री गर्न पाउँदा आम्दानी बढेको गाङ्खेतका कृषक कुन्तीदेवी थापा मगरले बताए ।

गाङ्खेत गाविसका महिला आजभोलि अल्लोको धागो प्रशोधनमा व्यस्त हुन थालेका छन् । गाङ्खेत कमलटुँडाका २६ उद्यमी अल्लोको धागो बिक्रीबाट प्रतिव्यक्ति ३० देखि ४० हजारसम्म कमाउन सफल भएका छन् । “गत वर्ष तीन क्विन्टल मात्र धागो प्रशोधन गरेका थियौँ, यस वर्ष सात क्विन्टलभन्दा बढी धागो निर्यात गरेका छौँ”– उद्यमी मगरले भने । अल्लोको धागोबाट कोट, कमिज, प्यान्ट्स, थैली, झोला, पछ्यौरा लगायत सामग्री बनाउन सकिने उनको भनाइ छ ।