मोरङ। मोरङ डंग्राहाका ढालुराम माझीले कागती खेती गरेर विगत चार वर्ष देखि वार्षिक २५ लाख रुपैयाँ कमाउँदै आएका छन्। विसं २०३६ सालमा नेपाली काँग्रेसको क्षेत्र नं ६ का सभापति हुनुभएका माझीले पार्टीहरु देश बनाउने भन्दा बढी आन्तरिक झगडामा लागेको देखेपछि राजनीतिबाट खिन्न भएर २०६४ सालदेखि डंग्राहा–३ मा दुई बोट कागतीको विरुवा रोपेर कागती खेती सुरु गरेका थिए।

माग अनुसार कागती खेती गर्न नसकेपनि अहिले आफूले उत्पादन गरेको कागतीले सुनसरी र मोरङको स्थानीय बजारको माग धान्ने गरेको उनले बताए। यसबाट उनलाई वार्षिक २५ लाख रुपैयाँभन्दा बढीको आम्दानी हुने गर्छ।

अहिले उनको दुई बिगाह जमिनमा चार जातका कागती फलिरहेका छन्। ती हुन् –धनकुटे पारीपात्ले, लाम्चो, गोलो र मद्रासी कागती। कागती खेतीबाटै उनको चार जनाको परिवार अहिले ढुक्कसँग चलिरहेको छ। त्यस्तै, उनका छोरा कृषिमा स्नातक अध्ययन गर्दैछन्।

एक पटक रोपेपछि वर्षौसम्म आम्दानी लिन सकिने र रोग किरा तथा अन्य समस्या पनि कम हुने हुँदा कागती खेती नेपाली किसानका लागि निकै लाभदायक रहेको माझीको भनाइ छ। वार्षिक १२ अर्ब रुपैयाँभन्दा बढीको कागती नेपालमा बाहिरबाट आउने गरेको बताइन्छ।