उदयपुर। स्थानीय उत्पादित आँपले उचित मूल्य नपाएको जिल्लाका किसानले गुनासो गर्न थालेका छन् ।

व्यापारीले बाहिर जिल्लाबाट आँप ल्याएर सस्तो मूल्यमा बिक्री गर्न थालेका कारण स्थानीयले उत्पादन गरेको आँपले उचित मूल्य पाउन नसकेको त्रियुगा नगरपालिका–८ बगाहाका किसान श्रवणदेव चौधरीले बताए ।

सदरमुकाम गाईघाट बजारमा स्थानीय आँपको मूल्य प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्म रहेको छ । तर बाहिरबाट आयातित आँप प्रतिकिलो २५ देखि ३० रुपैयाँँमा बिक्री भइरहेको छ । जिल्लाको पूर्वी क्षेत्रका तपेस्वरी, रामपुर, ठोक्सिला, सुन्दरपुर, हँडिया, जोगिदह र मध्य क्षेत्रको त्रियुगा नगरपालिकामा आँपखेती हुँदै आएको छ ।

जिल्लामा आँप पाक्न थालेपछि तराईका अन्य जिल्लाबाट व्यापारीले सस्तो मूल्यमा औषधी प्रयोग गरिएको आँप ल्याएर बिक्री गर्दा स्थानीय किसानले उचित मूल्य पाउन नसकेका जोगिदह–७ का डम्बरबहादुर खड्का बताउँछन्,। ‘आँप बिक्री गर्ने बेला भयो, तर उचित मूल्य पाउन सकेका छैनौँ,’ उनले भनृ । गुणस्तरहीन आँप खरिद गरेर व्यापारीले बजार क्षेत्र बिक्री गर्दै आएको उको आरोप छ ।

बर्सेनि बाहिरबाट आयात गरिएका आँपका कारण जिल्लाका किसानले उचित मूल्य नपाउँदा मर्कामा पर्नु परेको छ । जिल्लामा ६८० हेक्टर जग्गामा व्यावसायिक रुपमा आँपखेती हुँदै आएको छ भने पाँच हजार ४४० मेट्रिक टन आँप उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत रामकुमार यादवले जानकारी दिए ।