पाल्पा।  व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसानले परम्परागत खेती छाडेर तरकारीखेती गर्न थालेका छन् ।

जिल्लाको दक्षिणी भेगस्थित कोलडाँडाका अधिकांश किसान धान, मकै र गहुँखेती छाडेर तरकारी खेतीतर्फ आकर्षित भएका हुन । मकै, धान र गहुँखेतीबाट भन्दा तरकारीखेतीबाट तेब्बर फाइदा भएपछि परम्परागतखेती छाडेर तरकारी खेतीमा लागेको उनीहरु बताउँछन् ।

कोलडाँडा– ८ र ९ का ५० भन्दा बढी परिवार परम्परागत मकै र धानखेती छाडेर व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेपछि आर्थिक स्थितिमा सुधार आएको बताउँछन् । तीन वर्षअघि यही समयमा परम्परागत रूपमा गरिने धान र मकैखेती गर्न व्यस्त हुने यहाँका किसान अहिले भने व्यावसायिक तरकारी खेतीबाट तेब्बर फाइदा लिन कस्सिएका छन् ।

कोलडाँडाका स्थानीय बासिन्दा रेमन आले धान र मकैखेती गर्न छाडेर तरकारीखेतीमै व्यस्त छन्। आलेले धान र मकै खेतीबाट वर्षमा साँझ–बिहान खान पुग्ने गरेको विगतको यथार्थ सुनाउँदै अहिले तरकारीखेती गर्न थालेपछि वर्षमा रु चार लाखसम्म बचत गर्न सकेको बताए ।
बारी र खेतमा आलु, खुर्सानी, सिमी, बोडी, धनियाँ, गोलभेडा, भान्टा लगाएका छन् । आलेले सिजन अनुसारको तरकारी खेतीबाट आफूले मासिक रु ४० हजार आम्दानी गरेको बताए । परम्परागत खेतीबाट भन्दा सीप र मेहनतले व्यावसायिक तरकारी खेतीबाट बढी फाइदा लिन सकिने विश्वास आलेको छ ।

गहुँ, धान र मकैखेती गरेर परिवारका सबै सदस्यले साँझ–बिहान पेट भर्न पनि धौधौ हुन्थ्यो तर तरकारी खेतीले छोराछोरीलाई पढाउन, खाएर, राम्रो लगाएर बचत समेत गरेको कोलडाँडा– ९ का स्थानीय किसान नरबहादुर चौहानले बताए। बाह्रमहिना तरकारी खेतीमा व्यस्त हुने यहाँका किसानले उत्पादन गरेको तरकारी बुटवल, तानसेन, भैरहवासम्म जाने गरेको छ ।

वर्षात्मा उत्पादन भएको सिमी, गोलभेडा, धनियाँ,रामतोरिया, भान्टा, बोडिलगायतका तरकारी तुइनबाट तिनाउ खोला तारेर सिद्धार्थ राजमार्गमा झारेपछि बजारसम्म जाने गरेको स्थानीय खड्कबहादुर रास्कोटीले बताए।

तुइनले यहाँ उत्पादन भएको तरकारी तथा अन्य कृषिजन्य उपज बजारसम्म लैजान र बजारबाट गाउँमा आवश्यक बस्तु ल्याउन सहज भएको रास्कोटीले बताए । तरकारी खेतीले राम्रो फाइदा दिन थालेपछि धेरै किसान व्यावसायिक रूपमा तरकारीखेती तर्फ आकर्षित भएको उनीहरूको भनाइ छ ।