ललितपुर। यस वर्षको तिहारमा गत वर्षभन्दा आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । यस वर्षको तिहारमा खपत हुने मालामध्ये २ लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने र बाँकी अन्य सबै स्वदेशी उत्पादनले नै पुग्नेछ ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष ठिक समयमा तिहार परेको छ । जसका कारण स्थानीय फूल फुलिरहेका छन् । ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यासायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुन् ।

यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रू.६० देखि ७० सम्म बढी तिर्नुपर्ने देखिन्छ । गत वर्ष रू.५० देखि ६० भन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।

प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले केही माला भारतबाट ल्याउनुपर्ने अवस्था रहेको हो । तिहारमा मात्रै रू.१५ करोड फूलको कारोबार हुने गरेको छ ।

‘यसपटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला केही आयात गर्नुपरेको छ’, श्रेष्ठले भने, ‘अहिले स्वदेशमै ९३ प्रतिशत फूल उत्पादन हुन थालेकाले सात प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।’

यसअघिका वर्षमा १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।