एजेन्सी। तपाईंले हरियो, रातो वा हल्का पहेँलो रङका स्याउ देख्नुभएकै होला । तर चीनको तिब्बतमा भने कालो रङका स्याउ फलाइन्छ ।

तिब्बतका पहाडी क्षेत्रमा ब्लाक डायमान्ड जातको यो दुर्लभ स्याउ फल्दछ । यसको रङ गाढा बैजनी रङको हुन्छ र झ्वाट्ट हेर्दा कालो देखिन्छ ।

स्थानीय भाषामा यो स्याउलाई हुआ नियु भनिन्छ । समुद्री सतहबाट ३१ सय मिटरको उचाईमा यो स्याउको खेती हुन्छ ।

यो स्याउ फल्ने क्षेत्रको वातावरण विशिष्ठ खालको हुन्छ । दिन र रातको समयमा तापक्रममा उच्च फरक हुन्छ । दिनको समयमा परावैजनी किरणहरु पर्याप्त मात्रामा जमिनसम्म आउँछन् । विशिष्ठ वातावरण तथा परावैजनी किरण नै यो स्याउको अनौठो रङको कारक तत्व रहेको बताइन्छ ।

यो जातको स्याउ चिनिया बजारमा निकै महंगो मूल्यमा बिक्री हुने गरेको छ । यस किसिमको स्याउको उत्पादन निकै सीमित हुने गरेको छ ।

सामान्यतः स्याउको बोट ठुलो हुन ४ देखि ५ वर्ष लाग्ने गर्छ तर कालो स्याउको रुख ठुलो हुन ८ वर्षको समय लाग्छ । निकै कम मात्र उत्पादन हुने भएकोले यसको निर्यात निकै कम मात्र हुने गरेको छ ।

यो फल किलो नभई प्रतिगोटाको हिसाबमा बिक्री हुन्छ, जसको मूल्य ५० युआन रहेको छ । एक युआन बराबर नेपाली १५ रुपैंया ९० पैसा हुन आउँछ र नेपालमा यो फल खाने हो भने प्रतिगोटा स्याउको ७ सय पचास तिर्नु पर्छ ।

नेपालमा कालो स्याउको अनुसन्धान र अध्ययन नभएकोले यसको खेती तत्काल सम्भव नभएको कृषि विज्ञ डा. केदार बुढाथोकी बताउनहुन्छ ।