ललितपुर। नर्सरी व्यवसायी संघ नेपालले दोश्रो तिहार फ्लोरा एक्स्पो–२०८१ आयोजना गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले तिहारलाई लक्षित गर्दै पुष्प, फलफूल, कृषि, वन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको बृहत प्रदर्शनीको रुपमा कार्तिक ९ देखि १३ गतेसम्म भृकुटिमण्डपको प्रदर्शनी स्थलमा दोश्रो तिहार फ्लोरा एक्स्पो आयोजना गर्न लागेको जानकारी गराएको हो।

नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आयातलाई प्रतिस्थापन गर्न, आत्मनिर्भर बन्न र युवा स्वरोजगारको सिर्जना गर्न एक्स्पो आयोजना गर्न लागेको बताए ।

उनले भने, ‘आयातलाई प्रतिस्थापन गर्न, आत्मनिर्भर बन्न र युवा स्वरोजगारको सिर्जना गर्न भनेर नर्सरी व्यवसायी संघ दर्ता गरेर कार्यक्रमहरु गर्दै आएका छौँ । आयात रोक्ने ज्ञान हामीसँग छ तर सरकारले यसको लागि सहज वातावरण बनाउनुपर्छ ।’

‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ संचालन हुने मेलामा  विभिन्न प्रजातीका फूल फुल्ने तथा नफूल्ने फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने छ । साथै, मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ ।

संघले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिष्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गर्ने जनाएको छ । प्रतिष्पर्धाको मुल्यांकन गर्न कृषि वागवानी बिज्ञ, बनस्पती बिज्ञ, साथै पुष्प विकास केन्द्रका प्रमुख सहितको संलग्नतामा ३ सदस्यीय मुल्यांकन समिति समेत गठन गरेको छ । यस मेलामा ६५ वटा व्यवसायीक स्टल लगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र सहितको अफिसियल ३ स्टल तथा प्रतिष्पर्धाको २ वटा स्टल समेत जम्मा ७० वटा स्टल रहने छ ।

मेला ३५ हजारले अवलोकन गर्नुका साथै ७० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ भने मेला अवलोकन गर्ने सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति सय र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० व्यवस्था गरिएको छ ।