रेसुङ्गा। विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो । जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ ।

यस वर्षको सर्वेक्षणमा यहाँ १३ प्रजातिका नयाँ चरा फेला परेका छन् । जिल्लाको मदाने वन संरक्षण क्षेत्रमा आठ र रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा फेला परेको यससम्बन्धी सर्वेक्षण गरिरहेको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भरत पन्थीले बताउनुभयो ।

योसँगै गुल्मीमा चरा तीन सय १२ प्रजाति पुगेका छन् । हाल मदाने क्षेत्रमा दुई सय ७२ र रेसुङ्गा क्षेत्रमा दुई सय ५८ प्रजातिका चरा भेटिएका हुन् । यी दुवै क्षेत्रमा पाइने दुई सय १८ प्रजातिका चरा छन् । नेपालमा हालसम्म आठ सय ९२ प्रजातिका चरा पहिचान भएकोमा गुल्मीमा ३५ प्रतिशत चरा छन् ।

चरा सर्वेक्षणको क्रममा मदाने क्षेत्रमा हिमाली मलेवा, कण्ठे सुगा, खरलाहाँचे, लामोठूँडे चाँचर, खोले टिकटिके, लघु बगेडी, फुस्रो टिकटिके र ठूलो छिरबिरे माटीकोरे प्रजातिका चरा भेटिएका हुन् । रेसुङ्गा क्षेत्रमा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी चरा फेला परेका छन् ।

गुल्मीमा विश्वकै दुर्लभ छ प्रजातिका चरा यसअघिको अध्ययनमा पुष्टि भएको थियो । यहाँ रणमत्त महाचील, चीर, सेतो गिद्ध, गोमायु महाचील, डङ्गुर गिद्ध र सुन गिद्ध रहेका छन् । रेसुङ्गामा ऐतिहासिक, धार्मिक र जैविक विविधताले भरिपूर्ण क्षेत्र रहेको संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । उहाँका अनुसार रेसुङ्गालाई थप संरक्षणका लागि काम गरिनेछ । डिभिजन वन कार्यालय गुल्मीका निमित्त प्रमुख रामकुमार चौधरीले चराको वासस्थानको लागि वन क्षेत्रको संरक्षण गरिरहेको बताउनुभयो ।

चराको वासस्थान मानिने रेसुङ्गा क्षेत्र आफूहरुले संरक्षण गर्ने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो तर, रेसुङ्गा क्षेत्र प्रचारप्रसारको अभावले ओझेलमा छ । मदाने र रेसुङ्गा क्षेत्रमा दुर्लभ चरा भेटिए पनि यसबाट केही फाइदा लिन सकिएको छैन । मदाने वन संरक्षण क्षेत्र २०६८ र रेसुङ्गा वन संरक्षण क्षेत्र २०७४ मा घोषण गरिएको थियो ।

वन विनास, वासस्थान परिवर्तन र चोरी शिकारीका कारण यसलाई जोगाइराख्न चुनौती रहेको अध्ययनमा देखाइएको छ । रेसुङ्गा वन संरक्षण क्षेत्र १९ हजार दुई सय ८१ हेक्टर र मदाने वन संरक्षण क्षेत्र १३ हजार सात सय ६१ हेक्टरमा फैलिएको छ ।रासस