
गत कार्तिकको अन्तिम साता एक दिन बिहानै हामी काठमाडौंबाट सुर्खेत विमानस्थलमा ओर्लियौँ । झण्डै एक वर्ष अधि पछिल्लो पटक र त्यसअधि दर्जनौँ पटक सुर्खेत गइसकेको भएता पनि यस पटकको यात्रा फरक ढङ्गले अत्यन्त रमाइलो र अविस्मरणीय रह्यो । मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा झण्डै दुई दशक बिताएर यसपटक गरीबी निवारण, आर्थिक विकास र वातावरणको क्षेत्रमा भइरहेका निजी (गैरसरकारी) तथा सरकारी क्षेत्रका प्रयासहरूको स्थलगत अनुगमनको सिलसिलामा हामी सुर्खेतहुँदै बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका शहरी लगायत अनेक ग्रामीण वस्तीमा अवलोकन गर्दै गयौँ । साथमा बरिष्ठ कृषि विज्ञ पनि हुनुहुन्थ्यो । एक सल्लाहकारको रूपमा यस क्षेत्रमा मेरो यो पहिलो भ्रमण थियो । निराशा नै निराशा, कुण्ठा, आक्रोश, उत्पीडन, विभेदजन्य व्यवहार तथा जीवन निर्वाहका अनेकन चुनौतीहरू बीच रूमल्लिरहेको नेपाली समाजमा यति ठूलो आशा, भरोसा, प्रेम, जीवनप्रतिको उत्साह, श्रमको सम्मान र सामूहिक शक्तिमा विश्वास भएको नेपाली समाजको अर्को पाटोसँग संभवतः यसअधि कहीँ, कतै पनि मैले साक्षात्कार हुने मौका पाएको थिइनँ । यो कुरा मैले साथीहरुलाई पनि बताएँ । यस्तो अवस्था सुर्खेतको छिञ्चू, रामधाट नजिक मात्र होइन बाँकेको भरैया, बर्दियाको भैंसाही, कैलालीको पाताभार, कञ्चनपुरको कृष्णपुर लगायत पिपलाडी आदि गाउँका मानिसहरू — किसान, युवा, बृद्ध, महिला, उद्यमी, व्यापारी आदिमा भेटेँ । रामघाट पारिको दशरथपुरसँगको पुराना केही स्मरणहरुले मलाई थोरै कोट्यायो ।
अवलोकनको क्रममा मैले भर्खरै भेटेका विभिन्न भेगका ग्रामीण कृषकहरूमा डिल्लीप्रसाद शर्मा, चन्द्रबहादुर बिसी, खगिसरा बिसी, शेरबहादुर ओली, काजिराम थारु, बसन्ती चौधरी, पुष्पा जोशी, दिलिपकुमार थारु आदि मेरो स्मृतिमा ताजै छन् । उनीहरूमा विकसित भएको स्वआर्जन कला, आत्मनिर्भरताका साथै आत्मविश्वासले समयको वेग अब अर्कैतिर फर्किसकेको रहेछ भन्ने मलाई अनुभूति भयो । उनीहरु बाँचेका मात्र छैनन्, अरुलाई पनि बाँच्ने कला सिकाइरहेका रहेछन् । उनीहरूका साथै उनीहरूसँग विभिन्न समूहमा रहेर सँगसँगै काम गर्ने सम्पूर्ण महिला तथा पुरुषहरुमा समेत आफ्नै हात—पाखुरा, मिहिनेत, बुद्धि र शीपको भरमा आर्थिक उन्नति गर्न सकिन्छ र परावलम्वनबाट मुक्ति मिल्न सक्छ भन्ने ठहर भइसकेको पाएँ । साथै, आफ्नो पारिवारिक जीवनलाई विपन्नताबाट सम्पन्नतातर्फ, अशिक्षाबाट गुणस्तरीय र व्यावहारिक शिक्षाको बाटोतर्फ सहजै लैजान सकिने रहेछ र यसको लागि छ—आठ महिनाको अवधि नै पर्याप्त हुने रहेछ भन्नेमा उनीहरूको विश्वास बढेको पाएँ ।
मानिसहरू जतिसुकै सम्पन्न भएता पनि तिनमा आत्मसन्तुष्टि भएन भने त्यसले निराशा जन्माउँछ । पारिवारिक आर्थिक कठिनाइ र अज्ञानताले पनि यदाकदा निराशा ल्याउँछ । मन र मस्तिष्कलाई कर्मसँग जोडन नसक्दा मानिसहरू दिग्भ्रमित हुने गर्दछन् र अन्ततः दुःखी बन्दछन् । दिलिपकुमार यस यात्रामा भेटिएका एक सजीव प्रतिनिधि पात्र मात्र हुन् । आत्मनिर्भर बन्न उनले आफ्नै बाबुसँग कसरी र कस्तो विद्रोह गरे, त्यो बडो रमाइलो र मर्मस्पर्शी छ । दुई कठ्ठा जमिनमा तरकारी खेती गरिरहेका दिलिपका बुवालाई दिलिपले भनेछन् “अब मलाई दश कठ्ठामा खेती गर्न दिनुस् ।” तर बुवाले त्यही २ कठ्ठाको तरकारी बेच्न समस्या भइरहेको अवस्थामा दश कठ्ठामा उत्पादन गरेर के गर्छस् ? भनी प्रश्न गरेछन् र त्यस्तो तरकारी खेती गर्न हुँदैन भनेछन् । दिलिपले पुनः दोहो¥याउँदै अड्डी कसी त्यसो हो भने म अब आप्रवासी कामदारको रूपमा काम गर्न खाडी मुलुकतिर जान्छु, मलाई आवश्यक केही रकम दिनुस् भनी दिलिपले बुवालाई भनेछन् ।
बुवासँग छोरालाई विदेश पठाउने पैसा थिएन र बाध्यतावस् छोरालाई दश कठ्ठा जमिनमा नै तरकारी खेती गर्ने स्वीकृति दिएछन् । अहिले दिलिपकुमार साढेचार बिघा जमिनमा तरकारी खेती गरिरहेका रहेछन् । उनले आफू बस्ने एउटा पक्की घर बनाएका छन् । आठजना कर्मचारीहरू पनि राखेका छन् । एउटा तीन पाङ्ग्रे पनि किनेका छन् । उनी आफ्नो र गाउँलेहरूको सबै तरकारी भेला गरेर गुलरिया र कोहलपुर बजारसम्म पु¥याउँने गर्दछन् । त्यस्तै कथा कञ्चनपुर, कृष्णपुरकी पुष्पा जोशीको पनि रहेछ । दुईओटा बाख्रा पालेर बसिरहेकी पुष्पा सिप्रेड—स्कील अपको २ महिने तालिम पश्चात एक वर्ष भित्रै ५५ ओटा बाख्राकी धनी बनेकी छिन् । भर्खरै छओटा खसी बेचेर उनले रु. एक लाख बीसहजार आर्जन गरिछन् । बाँके भरैयाका शेरबहादुर ओलीको कथा पनि यस्तै छ, विगत सात महिनामा करीब १५ धुर जमिनको टनेलमा तोरीको सागमात्रै उत्पादन गरेर रु. एक लाख आर्जन गरेछन् । उनको अरु पनि खेती रहेछ । मैले सँगैका कृषिविज्ञहरूतर्फ फर्कँदै आश्चर्यचकित भावमा प्रश्न गरेँ, के यो सम्भव छ ? जमिनको बनौट, माटोको उर्वराशक्ति, पानीको सहज उपलब्धता र किसानको जाँगर आदिले गर्दा यो स्वाभावकि हो भन्ने जवाफ मैले पाएँ । मिहिनेत, प्रविधि र सफलताका अनेक दृष्टान्तहरूसँग साक्षात्कार सम्बन्ध गास्न पाउँदा म आश्चर्यचकित हुँदै थिएँ ।
नेपालमा तीन दशकभन्दा लामो समयदेखि वातावरण र कृषि विकासको क्षेत्रमा कृयाशील एक अग्रणी संस्था सिप्रेड नेपालका ७७ मध्ये ६८ जिल्लामा यस्तै किसानहरूसँग आफ्नै ढङ्गबाट ग्रामीण इलाकाका झण्डै छ लाख घरपरिवारमा नयाँ शीपसहितको उत्साह र शीप भर्दै गरीब तथा सीमान्तकृत समुदायसम्म पुगिसकेको रहेछ । दलित, जनजाति, महिला, विपन्न एवम् अति सामान्यजनको आर्थिक दुरावस्थालाई निराकरण गर्दै तिनलाई ह्वात्तै माथि ल्याउने काममा मन, वचन र कर्मले सिप्रेड लागि परेको रहेछ । ती वर्गको सशक्तीकरण र समुन्नतिको लागि बस्ती बस्तीमा आफ्ना कार्यक्रमहरू सञ्चालन गरिरहेको रहेछ । अतिशयोक्ति हुँदैन भने, धेरैजसो किसान तथा कृषि—उद्यमीहरुले यसलाई “भगवान्को अर्को रूप” ठानेका रहेछन् । कतिपयले यस संस्थाको साथ पाउनुलाई “ढुङ्गा खोज्दा देउता मिलेको” अनुभूति पनि गरेका रहेछन् र, यस संस्थाको सहयोग र साथको निरन्तरता पनि चाहेका रहेछन् ।
आन्तरिक द्वन्द्व, हिंसा, अन्याय, अत्याचार, बेथिति, विभेद, वहिष्करण आदि जस्ता अनेकन् कुराहरूबाट पीडित नागरिकहरू तथा सुशासनको तीव्र खोजी गरिरहेका नेपाली समाजका मानिसहरूवीच नै संभवतः निकै लामो समयसम्म आफू हिँडिरहेको कारणले पनि हुनसक्छ, मैले देखिरहेको त्यही समाज भित्र यसरी विगतका आफ्ना सम्पूर्ण पीडाहरूलाई पन्छाएर उत्साहित, प्रफुल्लित, दृढ निश्चयी भाव, भोलिको सुन्दरता र सुन्दर भविष्यको सुनिश्चिततामा आजैदेखि रमाइरहेका मान्छेहरूसँग भेट हँुदा म आफू स्वयम्लाई पनि केही थप प्रेरणा मिलेको अनुभूति भयो । त्यही समाज, त्यही भूगोल, त्यही जातजाती, त्यही बाटो, त्यही चौतारोमा मानिसहरू यसरी अनुहारमा अविचलित प्राकृतिक मुस्कान लिएर आफ्नो कर्तव्य—पथमा लम्किरहेको देख्दा म आफैँ अत्यन्त रोमाञ्चित भएँ । गरीबी निवारण, समुन्नती, द्रूत र दीगो विकासको लागि अब सिप्रेडजस्तो नागरिक संस्थाको वैज्ञानिक र व्यवहारवादी मोडललाई तराई, मधेस, हिमाल, पहाड लगायत सबै तिरका वस्तीहरुमा एकैसाथ पु¥याउने जमर्को सबैले गर्नु पर्दछ । पानी र कृषि प्रविधिको प्रसार, वातावरणमैत्री व्यवहार र पर्याप्त मलविऊको सुनिश्चितताका साथ कृषिमा बेजोड रुपान्तरणको लागि अब कसैले ढिलाइ गर्नु हुँदैन । मैले यस पटकको अवलोकन यात्रामा बर्दिया भैँसाहीका दिलपिकुमार थारु, कञ्चनपुर कृष्णपुरकी पुष्पा जोशी, बाँके भरैयाका शेरबहादुर ओली र अरु दर्जनौँ महिला किसानहरूबाट सामूहिकता, शीप र लगनशीलतामा नै जीवन परिवर्तनको शक्ति हुने रहेछ भन्ने अनुभूति गरेँ, सम्वभतः यस्तै अनुभूति सहयात्रीहरू सबैलाई भएको हुनुपर्दछ । ती प्राकृतिक हाँसो हाँसिरहेका मान्छेहरूसँग जीवनको लक्ष्य र अर्थ नै बेग्लै छ ।