नेपाल खाद्य विविधतामा अग्रपंति स्थानमा रहेको राष्ट्र मानिन्छ। यहाँको भौगोलिक विविधताका कारण हिमाल, पहाड, तराईमा विभिन्न खालका, वर्तमान अवस्थामा लोपोन्मुख हुन लागेका अन्नबलीहरु जस्तै कोदो, फापर, चिनो, कागुनो, उवा आदि पाइने गर्छन। विश्वमा करिव तीन हजार भन्दा बढी बाली बिरुवाका प्रजातिहरू मानवका लागि उपभोग गर्न युक्त मानिन्छन्। जसमा दस जातका अन्न दलहन,तेलका बीउ मात्र हाल खेती गरेको पाइन्छ र बाँकी लोपोन्मुख हुने अवस्थामा जंगलमै हराएर जाने अवस्थामा देखिन्छन्।

रैथाने बाली भन्नाले परम्परागत मूल्य मान्यता बोकेको कुनै ठाउँ विशेषको हावापानीमा पाइने र सामाजिक र आर्थिक मूल्य बोकेको बाली भनेर बुझ्न सकिन्छ। नेपालका प्रमुख रैथाने बालीमा छिर्केमिर्के सिमी, मिठे र तिते फापर, भागाे, नेपाले भट्ट, सेतो भट्ट, मार्सी धान, पोखरेली जेठो बुढी, घैया धान, जोरायल बास्मती, दर्माली, गुडुरा, गौरिया आदि पर्दछन । नेपालका उच्च पहाडी, हिमाली वा मध्यभेगीय जिल्लाहरू जस्तै मुगु, कालिकोट, हुम्ला, जुम्ला आदि मा रैथाने बालीहरू बढि मात्रामा रहेका पाइन्छ।

कृषि बिकास मन्त्रालयको तथ्याङ्क अनुसार करिब तीन लाख पचास हजार हेक्टर क्षेत्रफलमा कोदो, फापर, उवा, कागुनो, जौ आदि रैथाने बालीहरुको खेती गरिएको पाइन्छ। रैथाने बालीहरू कृषि विकास मन्त्रालय र अनुसन्धान केन्द्रहरुको प्राथमिकतामा नपर्दा नेपालको आनुवंशिक श्रोत नै हराएर जाने तथा देशका दुर्गम क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा झनै जटिल बन्ने खतरा देखिएको छ। त्यसमाथि अहिलेको महामारीका कारण अन्न बालिको आयात ३०% ले बढेको देखिन्छ। २०२१ को तथ्याङ्क अनुसार लगभग १.५ खर्बको कृषिजन्य कुरा आयात गरेको पाइन्छ। यसको दर अझै दिन प्रतिदिन बढ्ने देखिन्छ।

नेपालमा पहिलो पल्ट १९६०  को दशकमा उन्नत जातको बीउ भित्रिएको अनुमान गरिन्छ। अध्ययन अनुसार वर्णशंकर बीउको लोकप्रियता बढ्दै गए सँगै रैथाने बालीहरुको बीउ शुद्ध लोप हुनेहुनकी भन्ने डर पनि पैदा भएको छ। कृषि तथा पशुपंक्षी मन्त्रालय को तथ्याङ्क अनुसार नेपालका धनमा १०  प्रतिशत, गहुँमा ५ प्रतिशत, मकैमा १५ प्रतिशत, तरकारीमा १५ प्रतिशत मात्र रैथाने बीउ मार्फत खेती भइरहेको पाइन्छ। केहि वर्ष अगाडी नेपालको विभिन्न भूभागमा ५० प्रजातिका धानबाली पाइने गर्थे भनें अहिलेका संदर्भमा जम्मा ४-५ मात्र रैथाने धानका बालीका जातहरु रहेको राष्ट्रिय कृषि आनुवंशिक श्रोत केन्द्रले जनाएको छ। यद्दपि कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, जस्ता बालीमा भने धेरै जसो स्थानिय बीउ नै प्रयोग भइरहेको अवस्था छ जुन रैथाने बाली संरक्षण को सकारात्मक पक्ष पनि हो।

वर्तमान संदर्भमा हेर्दा नेपालकै बाजुरा को मुक्तिकोटमा दस भन्दा बढी बालबालिका कुपोषण का कारण ज्यान गुमाएका छन् भनें सयौ जना नागरिक पोषण युक्त खानाको अभावमा छन्। रैथाने बालहरुमा फाइबर, प्रोटीन,  कार्बोहाइड्रेट, भिटामिन, खनिज प्रसस्त मात्रामा पाइने हुनाले यो शारीरिक तथा मानसिक विकाशमा पनि यसले अहम भुमिका निर्वाह गरेको हुन्छ। रैथाने बालीमा हावा, पानी, रोग, किरा हरू प्रति प्रतिघात गर्ने क्षमता भएका कारण यसको राम्रो भन्दा राम्रो बजारीकरण, उत्पादन र यसको खेति गर्ने किसानलाई प्रोत्साहन गरी नेपालमा खद्य सुरक्षा सन्तुलनमा राख्न सकिन्छ।

हाम्रो कोदो, फापर, मार्सी धानको पनि राष्ट्रिय देखि अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजारीकरण गराई, यिनै लोपोन्मुख बालीलाई फेरी बर्तमान अबस्थामा फस्टाएर देशको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिन्छ। सर्वप्रथम त नेपालीको खाद्य शैलीलाई परिवर्तन गरी भातको सट्टा कोदो, अाटो, आलु को साटो तरुल आदि प्रयोग गरी खाद्य पदार्थको बढी भन्दा बढी आयात रोकी नेपालकै बालीमा रमाउन र त्यसको सम्मान गर्न अति आवश्यक रहेकाे छ। कृषि विद्यार्थीले पनि सधैं भरी धान, मकै, गहुँको मात्र अनुसन्धानमा नलागी रैथाने बाली लाई पनि उत्तिकै महत्त्व दिन जरुरी छ किनभने रैथाने बाली हाम्रो पहिचान पनि हो जसले भिन्नै प्रकारले नेपाललाई अन्तराष्टिय जगतमा चिनाउँछ। रैथाने बालको अनुसन्धान, बीउबिजन संरक्षण र नयाँ खोज गरी कृषि क्षेत्रलाई टेवा पुर्याउने काम गर्न अति जरुरी देखिन्छ। यसरी रैथाने बालीले परम्परागत शैली जोगिने र अर्थतन्त्रमा पनि सकारात्मक पक्ष झल्किने स्पष्ट देखिन्छ ।