मोरङ। विराटनगर महानगरपालिकामा माछामासुको खपत अत्याधिक छ । खशी, बोका, बाख्रा, राँगा र बङ्गुरको मात्रै दैनिक दैनिक १० देखि १२ हजार केजी मासु खपत हुने गरेको व्यवसायीहरु बताउँछन् ।

बोइलर कुखुराको माग अझै बढी छ । तर, व्यवस्थित पशु बधशालाको अभावमा विराटनगरका उपभोक्ताले स्वस्थकर मासु खान पाउँदैनन् । एकातिर पशु वधशालाको अभावमा महानगरवासी अस्वस्थ्यकर मासु खान बाध्य छन् भने अर्कोतिर पशु बधशाला निर्माण सुरु भएपनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

विराटनगर–८ स्थित एक बिघा आठ कट्ठा जग्गामा विसं २०६६ बाट निर्माण सुरु गरिएको बधशाला अहिले जीर्ण अवस्थामा पुगेको छ । विराटनगर महानगरपालिकाले बधशाला निर्माणका लागि अहिलेसम्म रु एक करोड १९ लाख खर्च गरिसकेको महानगरपालिकाका भेटेरिनरी शाखाप्रमुख हीरालाल कामतले बताए । निर्माणाधीन बधशालाका लागि विस्तृत निर्माण परियोजना लगायतका संरचना निर्माणका लागि रु २१ करोड २५ लाख ८० हजार बजेट लाग्ने संशोधनसहितको डिपिआर स्वीकृतिका लागि पशु सेवा विभागमा पठाइएको उनले जानकारी दिए । हेफर इन्टरनेसनलले तयार पारेको सो डिपिआर संशोधनका लागि पशु सेवा विभागमा पठाइएको र त्यहाँबाट आएपछि निर्माणले कार्यले गति लिने उनको भनाइ छ । दुःखद हो ।

विराटनगरमा सुविधासम्पन्न पशु बधशाला निर्माणका लागि प्रदेश सरकारले गत दुई आर्थिक वर्षमा करिब रु आठ करोड बजेट विनियोजन गरेको थियो । आव २०७५र७६ मा करिब रु तीन करोड विनियोजन गरिएकामा खर्च नभएर फिर्ता भयो भने दोस्रोपटक २०७६र७७ मा रु पाँच करोड विनियोजन गरेको थियो । प्रदेश नम्बर १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गएको वर्षमा विनियोजन गरेको बजेट फ्रिज भएपछि चालु आवमा बजेट विनियोजनको व्यवस्था नभएको जानकारी दियो ।

विराटनगरमा व्यवस्थित पशु बधशाला नहुँदा जथाभावीरुपमा पशु बध गरिने गरेको छ । विराटनगरको मुख्य सडक, सार्वजनिकस्थल, धार्मिक क्षेत्र, नदी, सडकको किनारा तथा नालामाथि जथाभावी बध गरी मासु बिक्री गर्नाले सर्वसाधारण जनताको स्वास्थ्यमाथि गम्भीर असर परिरहेको छ । पशुको स्वास्थ्य परीक्षण बिना जथाभावी जहाँ मन लाग्यो त्यहाँ मासु काट्ने तथा फोहोर जथाभावी फाल्ने प्रवृत्ति बढ्दो छ । लापरबाही र गैरजिम्मेवारीपूर्वक माछामासु बिक्री भइरहँदा समेत महानगरपालिका चुपचाप बसेको भन्दै अधिकारकर्मीहरुले आवाज उठाएका छन् ।

अस्वस्थकर माछामासु खानाले गम्भीर प्रकृतिका रोग लागेर नागरिकले औषधि उपचारमा ठूलो धनराशी खर्च गर्नु परिरहेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

ठूलो क्षेत्र भएको र सबै क्षेत्रका मानिसहरु एकै ठाउँमा मासु खरिद गर्न पनि गाह्रो हुने भएकाले बधशाला नगरवासीको सहुलियत एवं सुविधाको दृष्टिकोणले तीन वा चार ठाउँमा निर्माण गर्नुपर्ने आवश्यकता देखिएको अधिकारकर्मीको भनाइ छ । बधशालाको अभावमा नगरको विभिन्न स्थानमा अहिले मासु पसल राखेको पाइन्छ । ती पसलहरु निश्चित मापदण्ड पनि पूरा गर्न सकिरहेका छैनन् । जसले गर्दा मानिसहरु अस्वस्थकर मासु खान बाध्य हुन्छ । ती मासु पसलेहरुले काटेर राखेका खसी बोकामा झिँगा लागि रहने, बाहिरबाट आउने धुलो पनि लाग्ने समस्यालाई उचित बधशालाले नै निराकरण गर्न सकिने उपभोक्ताको भनाइ छ ।

विराटनगरको सीमावर्ती बजार रानीदेखि शिरानतर्फ वा विराटनगर महानगरपालिकाको उत्तरी सीमा पहडगछसम्ममा सयौँको सङ्ख्यामा त्यस्ता मासु पसलहरु छन् । ती सबै मासु पसलेहरुले आफ्ना इच्छाअनुसार खसीबोका काट्ने र बिक्री गर्ने गरेको तथा यसबाट निस्कने फोहर पदार्थहरुको उचित व्यस्थापन गर्न नसक्दा दुर्गन्ध हुने समस्या देखिएको छ । मासु पसल वरपरका अन्य पसले वा घरधनीहरु पनि यस्तो समस्याबाट बाहिर निस्कन सकेको छैन् । मासु पसलमा सरकारी निगरानीको अभावले गर्दा खसीको मासु हो कि बाख्राका मासु हो त्यो पनि छुट्याउन उपभोक्तालाई समस्या हुने गरेको छ ।

यी सबै समस्याको समाधान निश्चित ठाउँमा पशु बधशालाको व्यवस्था भएमा मात्र गर्न सकिने स्थानीयवासी राजेश श्रेष्ठले जानकारी दिए । हुन त विराटनगर महानगरपालिकाले पशु बधशालाको धारणा नल्याएको पनि होइन तर यो काम कछुवातालमा हुने भइरहेकाले नगरवासी यसबाट हैरान छन् । दैनिक ५ सयभन्दा बढी खसी विराटनगर क्षेत्रमा काटिने गरेको विराटनगर बसपार्कस्थित करिया मासु पसलेले जानकारी दिए । उनले अहिले पनि दिनमा पाँचदेखि छवटा खसी काट्ने गरेको र मानिसहरुलाई स्वस्थकर मासु खुवाउन पसलमा सिसाले घेराबेरा गरेको बताए ।

यस्तै घेराबेरा अरू पसलेले गर्न सकेका छैनन् । जसले गर्दा समस्या हुनु स्वाभाविक हो, उनको भनाइ छ । होटेल व्यवसायी संघका प्रदेश अध्यक्ष राजन श्रेष्ठले प्रदेशको राजधानीमा एउटा व्यवस्थित बधशाला निर्माण नहुँदा पाहुनालाई स्वस्थ्यकर मासु पस्कन समस्या भएको बताए । उनले विदेशीलाई स्वस्थकर एवं छालारहित मासु खुवाउनुपर्ने आवश्यकतालाई यहाँका केही मासु पसलेले मात्र पूरा गरेको छ । कुनै पनि चौपायाको छालायुक्त मासु खानु स्वास्थ्यका लागि निकै हानि हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

जथाभावी गरिने बधका कारण वातावरणमा समेत असर भएकाले हामीले कैयौँ पटक आवाज उठाउँदा पनि समस्या जहीँको त्यहीँ छ, स्थानीयवासी केवल कार्कीले जानकारी दिए । विराटनगर–९ का गहिणी सरस्वती श्रेष्ठले सार्वजनिक स्थानमा पशु बध गर्दा त्यसका हाड, छाला जताततै फालिने गर्दा समाजमा दुर्गन्ध फैलिने गरेको बताए । सार्वजनिक स्थानमा बधका कारण भुस्याहा कुकुरको सङख्यामा वृद्धि भइ रेबिज रोग लाग्ने डर नगरवासीमा देखिएको विराटनगर–११ का अर्जुन सुवेदीको भनाइ छ ।

सार्वजनिकस्थल, चोक, सडकमा मासु काट्ने गरिँदा बालबालिकामा मनोवैज्ञानिक असर परिरहेको विराटनगर–१० का राजेश सिंह डङ्गोलले बताए । उनले भने, “मुलुकमा शाकाहारीको दिन प्रतिदिन वृद्धि भइरहेको अवस्थामा सार्वजनिकस्थलमा गरिने पशुजन्य बध रोक्नु आवश्यक छ । होटेल व्यवसायी भविष श्रेष्ठ प्रदेशको राजधानी रहेको विराटनगरमा अविलम्ब व्यवस्थित बधशाला निर्माण कार्यलाई द्रूत गतिमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा पशु बधशाला निर्माणको कुरा समावेश गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

महानगरले चालु आव २०७७/७८ को नीति तथा कार्यक्रममा भने खुल्लारुपमा पशुहरुको बध गर्ने कार्यलाई नियन्त्रण गरी व्यवस्थितरुपमा प्रदेश सरकारसँगको साझेदारीमा आधुनिक तथा सुविधासम्पन्न पशु बधशालाको निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ । रासस