वायु, हिमाल, पानी, वन जङ्गल, अन्नबाली, माटो ढुङ्गा आदिको समष्टि नै कृषि हो। भूमिगत जग्गामा  कोदालो चलाएर पेट भर्नुलाई नै निपूर्ण कृषि मान्नु, हाम्रो गलत बुझाइ हो। वनजङ्गलमा कुहिएका पतिङ्गर, माटो र ढुङ्गाको पोषण चुसेर, सूर्यको किरण अनि पवनको स्वच्छताबाट अन्न फल्दछ। यस्को तात्पर्य कृषि वास्तवमै विस्तृत छ, विशाल छ। जस्को आधार बलियो हुन, पर्यावरणको मजबुति जरुरत पर्दछ। सफा पर्यावरण र  पोसिलो आहारको जमघट मानवीय स्वास्थ्यको चौकीदार बन्दछन् अनि स्वस्थ, निरोगी मानव शरीरको खम्बा,सशक्त र सिमा सुरक्षाको जिम्मेवारी वहन गरेको जङ्गे पिल्लर बन्दछ।

ढुङ्गेयुगका किस्साहरु देखि लिएर आधुनिक युगका पराक्रमी योजण्डाहरुको चर्चापरिचर्चा मेरा यी कृषक कर्णहरु, वेद, उपनिवेद, पुराण, बाइबल, कुरानका महाकथाहरू श्रावण गरेर पवित्र हुदा झै दिनहुँ पवित्रताको महापदक नै हाँसिल गरिसके। आज अहिले चल्दै गरेको कालखण्डमा पनि त्यही पदकको मुद्रा बनाएर कर्णलाई सुसज्जित गराइराखेको छु । मलाई लाग्छ, तपाईंहरु पनि मेरो अवतारमा देशका कुनै न कुनै खोप्चा, कुना कन्तरामा अथवा विकसितको नामले लाली चढाउदैं गरेका सहरहरुमा,  कोदालो नचाउदै, खेतबारी मल्याउदै, वर्षायामको झरी भन्दा पनि मिल्ने झरी शरीरका रहेक अङ्ग प्रत्यङ्गबाट वर्षाउदै हुनुहुन्छ होला, अनि सिँचाइ  गर्ने जिम्मेवारी बोकेको त्यो  सुकेको नहरलाई हेर्दै पसिनाले भिजाएको त्यो खेतीलाई समाल्दै हुनुहुन्छ होला। मध्यान्नको प्रचण्ड गर्मीमा सुकिसकेको अाँत  र पेटलाई  भोलि फुल्ने, फल्ने अन्नबालीहरु, तरकारीबालीहरुको काल्पनिक स्वादले  भिजाउदै अनि अघाउदै, मेरो अवतारमा गर्व गर्दै हुनुहुन्छ हैंन। जात कृषक, भाषा कृषि र धर्मको महान ग्रन्थ माटो, तपाईं हाम्रो एउटै पहिचान, एउटै नारा। धर्मको महाग्रन्थ माटोको पूजापाठ गर्दै, बिउ बिजन छर्दै, दुनियाँ निरोगी, स्वच्छ र स्वतस्फूर्त बनाउन आफ्नो काँधका छालाहरुको धड्कन भड्काई दिएर परिश्रमका नङ्ग्राहरुले चिथोरेको को सहन सक्छ ? तपाईं र मपाईं बाहेक।

म अहिलेको वैज्ञानिक युगलाइ अल्छी युग भन्दछु, लम्पसार युग भन्दछु। म मात्र हैंन मेरा सबै आवतारहरु स्वरमा स्वर मिलाएर भन्दछन “हे! लम्पसारवादीहरु  तिम्रो खेतीमा बाँझोपनले अड्डा खडा गरिसक्यो, अब त्यहाँबाट कुनै सन्तान जन्मिने छैनन् । कदम कदाचित जन्मिएका भएपनी हुर्कने ,बाँच्ने अनि तिम्रो हरेक क्षणको अपरिहार्य लठ्ठी बन्न पाउने छैनन् । त्यसैले तिम्रो यो आधुनिक युगमा बनाएर प्रयोगमा नआएका , खिइसकेका, कृषि आधुनिकीकरण यन्त्रहरुमा, दिगो कृषि विकास परियोजनाहरुमा, खाद्यान्न सुरक्षाका रणनीतिहरुमा, कहिल्यै खिया नलाग्ने, कहिल्यै नबिग्रने, स्वच्छ, भरपर्दो,  इन्जिन जडान गर अनि अर्गानिक खेती सुरु गर, नत्र भोकमरीको चपेटामा चट्नी बन्नु सिवाय केही विकल्प बाँच्ने  छैन। भावी सन्ततिको भोकलाई  भोकमोरीमा परिणत गर्ने यी रासायनिक मलहरु, रासायनिक औषधिहरुको भोजन ग्रहण गरेर पाउरोटी झै भुक्क फुलेका  तिम्रा गालाहरु, माटोको अपच अनि माटोमा बाँच्ने स-साना जीवहरुको मरण सङ्गै चाउरिन्छ्न। तिम्रो बूढेसकाल सङ्गै खिइदैं, कमजोर हुँदै जान्छन् । अब त यो ह्वात्त खन्याउने र ह्वात्त फल्याउने बानीमा पूर्णविराम लगाउँ, अनि प्राङ्गारिक खेतीको थालनी गर। त्यसैमा फल्छ तिम्रो सन्तानको भोकको अमृत , दिगो कृषिको स्वर्ण पदक अनि खाद्य सुरक्षाको भरपुर मातहत। तिमीले पटकपटक रासायनिक समुद्र मन्थन गरिरहनु पर्दैन। बस्  लम्पसारवाद र अल्छीपनालाई आत्मनिर्भरता र दृणदाले मारीदेऊ, जाँगर आफैं उत्पन्न हुन्छ, बरु तिम्रो पक्षमा मुद्दा जिताउन म नै वकिल बनौंला, म नै प्रधानन्यायाधीश बनौंला तर तिम्ले यी दुई तत्वहरु लम्पसारवाद र अल्छीपनालाई मार्नै पर्छ। त्यसपछि  तिमी गाउँगाउँ , गल्लीगल्ली, सहरबजार, देशका कुना कन्तरा, खोप्चा खोप्ची, हिमाल पहाड र तराई हरेक ठाउँमा ” दिगो कृषि , खाद्य सुरक्षा  र हाम्रो अभिभारा” तीन रणनीति उजागर गर्ने तर्फ लाग, म अनि मेरा सबै कृषक अवतार तिम्रो लठ्ठी बन्ने छौं ।”

कृषि विकासका मार्गहरु, गुणस्तरीय बीज  बिजनको उत्पादन, शुद्धता, सिँचाइको अपरिहार्यता, सिँचाइका उपयुक्त भरपर्दा मेथडहरु जस्तै डृप इरिगेसन, अन्नबाली हेरविचारका आधारहरु, माटो संरक्षणका उपायहरू, किसान राहतका कार्यक्रमहरु, बाली बिमाका प्रयोजनहरु,  अदि थुप्रै दिगो कृषि विकास हितका परियोजनाहरु कार्यान्वयन गर्दै रासायनिक मल, किटनासक औषधिको प्रयोगमाथि प्राङ्गारिक जनचेतनाका अहम् आधारहरु खडा गर्न सक्ने हो भने कृषि, ह्या बाट अहोमा पुग्दछ , निर्भरताबाट आत्मनिर्भरता, आज बाट दिगो, रोगी बाट निरोगी, कुपोषण बाट पोषण , भोकमोरी बाट भोकहरी, बाँझो  बाट मलिलो अनि खाद्य असुरक्षा बाट खाद्य सुरक्षामा अवतरण गर्दछ।

च्याउ झै उम्रिरहेका यी अनगिन्ती रोगहरु, सिमेन्ट जम्दा झै जमेका माटोका कणहरु, अन्धकारिदैं गइरहेको त्यो निलो आकास, बढ्दै गएको त्यो ग्लोबल वार्मिङको चेतावनी अनि निरसिलो माटो, उर्वरा शक्तिको ह्रास, रासायनिक मलको ज्यादा प्रयोग, परंपरागत खेती प्रविधिमा आत्म सन्तुष्टि ,लगनशीलता, आधुनिक प्रविधिको अज्ञानता अनि निष्प्राण बन्दै गएको भान्साको अमृत, यहीँ युगको विकास हो, यहीँ युगको आधुनिकताको उपज हो, कृषिमा रासायनिकीकरणको वरदान हो अनि खाद्य सङ्कटको सङ्केत पनि। जुन वरदान आफ्नैं निर्माताहरु माथि भयावह बन्दैछ, मृत्यु बन्दै छ। उचित तरिकाको प्रयोगले अनुचित परिणाममा भकारी कैले भरीन्छ? भन्ने मानसिकता , बुद्धि जब सम्म उत्पन्न हुन्न तब सम्म दीर्घकालिन समाधानको मार्ग तय हुँदैन । तत्परता, लगनशीलता, जागरुकता, र परिश्रमी आशाहरुको मिहिनेतले नैं  तन्दुरुस्तीका अनेकौं हतियार बोकेका अन्नबालीहरु पोसिलो अहारका स्वरुपमा भित्रिन्छन्  अनि हट्टाकट्टा बलवान हातहरु सहाराको भूमिका बेखुबीले निर्वाह गर्दछ्न्। जसको फलस्वरूप मेरो अवतरणले सार्थकता प्राप्त गर्दछ अनि खाद्य सुरक्षाको झमेला केही हदमा कम हुन्छ

घरको कुर्सीमा मेरुदण्ड कुज्याएर, खाद्ययान्न सङ्कट र त्यसबाट जन्मिने समस्याको बारेमा विभिन्न सामाजिक मिडियाहरुमा विश्लेषण गर्दै दिनचर्या बिताउनेहरु, कहिलेकाहीँ खाद्य सुरक्षाको निम्ति मैले के गरे? बुदागत् रुपमा आफुले गरेका कार्यहरु कापीको पानामा टिप्नुस्  सायद अधिकांशको कलम चल्दैन होला? अनि कसरी हुन्छ खाद्य सुरक्षा , कसरी तोडिन्छ भोकमोरीबाट निम्तने विभिन्न रोगहरुको शक्ति। कर्णालीमा बस्नेले कर्णाली मै अाफूलाई पुग्ने तरकारी अन्नबाली उत्पादन गर्नु पर्छ, हिमालमा बस्नेले त्यहाँ  अनुकूल हुने अन्नबालीहरु अनि पहाडमा बस्नेले पनि। पहिले आफू धेरै नभए पनि थोरै मात्रामा कृषिलाई टेवा पुर्याउछु भनेर लाग्नु पर्छ र  सरकारले आवश्यक सहयोग हाैसला प्रदान  गर्नु पर्दछ। खाद्य उत्पादन , खाद्य आयात निर्यात देखि हरेक कुराहरुमा टेवा पुर्याएर हरेक नेपालीको, हरेक किसानको, बुढेसकालको लठ्ठी बन्नु पर्दछ अनि बल्ल खाद्य सङ्कट बाट निम्तने समस्याहरु केही हद सम्म कम हुन्छन् ।

वास्तवमा खाद्य सुरक्षा भनेको खाद्यान्नले मानवलाई गर्ने सुरक्षा हो, मानवलाई उस्को शारीरिक आवश्यकता  अनुसार पोषण तत्वको पहुँच , भोकमरीको एन्टिबायोटिक हो  अनि खाद्यसङ्कटबाट निम्तने रोगहरुको बैंध्य हो।

दिगो कृषि अनि अर्गानिक आधुनिक खेतीको विस्तार , उत्पादित खाद्यान्नमा सर्वसाधारणको पहुँच , आयात, निर्यात, बजारीकरणको व्यवस्था, अनि घरघर दिगो कृषिको परियिजनाको विस्तार नै खाद्य सुरक्षाका मूल उपायहरु हुन् जसबाट   पोसिलो आहार, स्वस्थ मानव सिद्धान्तको विकास हुन्छ।अनि भावी पेट सुरक्षित हुन्छ।

जात कृषक, भाषा कृषि र धर्मको महान ग्रन्थ, जननी  माटो, अपन्याएर दिगो कृषि विकासकाका कदमहरु , तपाईं , म, हामी सबै मिलेर चाल्ने हो भने , खाद्य सङ्कटका काला मडारिएका बादलहरु सदा सदाका लागि हटेर जान्छन् । स्वस्थ देश, निरोगी जनताको मूल मन्त्र उर्जाको स्रोत बन्दछ। जसले घर परिवार, समाज, राष्ट्र र सिङ्गो विश्व ब्रह्माण्डलाई नै स्वस्फूर्त बनाउछ। त्यसैले  अर्काको मुख ताक्नु भन्दा पनि आफ्नैं पौरखमा विश्वास गर्नु, रायसायनिकीकरणलाई प्राङ्गारिक हतियारले मुर्झ्याउनु, नै आजको मूल आवश्यकता हो, मूल सिद्धान्त हो, दिगो कृषिको आधार हो, खाद्यान्न सङ्कटको निराकरण हो, खाद्यान्न सुरक्षाको आधार हो, मेरो अवतरणको अभिप्राय हो।