स्याङ्जा। स्याङ्जाका किसानले नीति र प्रविधीको कमिले कृषिमा प्रगति हुन नसकेको बताएका छन् । राज्यको पहिला सहि नीति बन्नुपर्छ र त्यसपछि प्रविधी चाहिन्छ । शिक्षण पेशा सहित कृषिलाई पनि सँगै अगाडि बढाएका स्याङ्जाको वालिङ नगरपालिका १३ भैंसीखोलाका बुद्धिसागर पराजुलीले नेपालमा विभिन्न किसिमका हावापानी र माटो छ, राज्यद्वारा त्यही किसिमको सिफारिस गरिनुपर्ने बताए । यसो गर्न सक्यो भने पैसा कमाउन बाहिर जान र छटपटाउन पर्ने छैन,नेपालमै प्रशस्त आय आर्जन गर्न सकिने उनको भनाइ छ ।

बुद्धिसागरले विदाका दिन र साँझ विहानको खाली समयलाई सदुपयोग गरेर तरकारी तथा कागती खेतिलाई अगाडि बढाएका हुन् । उनले करिव चार रोपनीे खेतमा यतिबेला भेण्टा र खुर्सानी फलाएका छन् भने सँगै २ सय पचास बोट कागती लगाएका छन् । उनले २०७४ देखि मथुरा तरकारी तथा कागती फर्म नै सञ्चालन गर्दै आएका हुन् ।

पहिलादेखि नै तरकारी लगाउँन रुचि राख्ने बुद्धिसागरले पछिल्लो तीनवर्ष यता कागतीखेतिलाई जोडेका हुन् । कुनबाट कति फाइदा हुन्छ भनेर तुलनात्मक हिसावले हेर्दा कागती उपयुक्त लागेको उनको भनाइ छ । तरकारीखेतिबाट तत्काल उत्पादन हुन्छ र कागतीबाट एकपटक लगाएपछि लामो समय दिगोरुपमा फल लिन सकिन्छ । त्यसैले धान, मकै, गहुँबाट भन्दा धेरै नै फाइदा हुने देखेर कागती लगाउन थालेको बुद्धिसागरले बताए ।

उनले कागतीका बिरुवाको बीच बीचमा भेन्टा र खुर्सानी लगाएका छन् । कागती अलि सानो छँदासम्म यसरी तरकारी लगाउँदा थप आम्दानी पनि लिन सकिने र जमीनको सुसार पनि भैरहने हुँदा सँगै लगाएको उनले बताए । अहिले उनको कागती बगानमा भेन्टा र खुर्सानी फलिरहेका छन् । दुईवर्षका कागतीका बोटले आशा लाग्दो गरी फल दिइसकेका छन् । यसका साथै बन्दा र काउली लगाउने तयारी गरिरहेका छन् ।

बुद्धिसागर भन्छन्—हामीलाई आवस्यक पर्ने कागती तथा फलफूलहरु विदेशबाट आयात भैरहेका छन्, हाम्रा जमीनहरुमा उत्पादन लिन सकिने क्षमता छ र त्यसबाट बढी लाभहुन्छ भने किन नगर्ने भन्ने मान्यताले पनि यो व्यवसाय अंगालेको हो । आप्mनो घरमा एउटा कागतीको बिरुवा थियो, त्यो बिरुवा एकवर्ष राम्रोसँग फलेको देखें र यस्तै किसिमका तीन चार सय बिरुवा लगाउन सकें भनेदेखि काफी पैसा पर्दोरहेछ भन्ने सोंच आएर धान रोप्ने खेतमै कागती लगाउन थालेको बुद्धिसागरले सुनाए । घरमा भएको त्यही एउटा कागतीको बोटका हाँगाहरु कलमी गरेर र फलको वियाँबाट बिरुवा जमाएर पराजुलीले कागतीखेतिको विस्तार गरेका हुन् ।

उनि भन्छन्—शिक्षण पेशामा आँफुलाई बाँच्ने आधार छ भनेर फुर्सद लिएर बसिन, विहान बेलुकाको समयमा यी कागतीका बिरुवालाई छोराछोरीलाई जस्तै गरें, परिश्रम अनुसार बिरुवाहरु पनि हुर्कंदै आएको छ ।

बेला बेलामा तरकारीको बजारीकरणमा केहि समस्या देखिने गर्छ, आँफूले पनि सिजन चिन्न सक्नुप¥यो, बजारलाई हेरेर तरकारी लगाउने गर्नुपर्छ । यसो गर्नसक्यो भने अवस्य लाभ लिन सकिन्छ, फलस्वरुप यसपटक भेण्टा लगाएको पराजुलीले बताए ।

अहिले आएर मानिसहरुमा केही जाँगरिलोपन देखिन थालेको छ, जाँगर बढाउन सक्ने हो भने कृषिमा काफी सम्भावना रहेको पराजुलीले व्यक्त गरे ।

धान फल्ने खेतमा कागती लगाउन थाल्दा सुरुमा छिमेकीहरुले के गरेको होला भनेर अनौठो मानेका थिए तर अहिले आएर अरुले पनि लगाउन थालेका छन् । कागती लगाउँदा कान्ला परेको जमीनमा पहिरो जानबाट जोगिन्छ र क्षयिकरणको क्रम पनि रोकिन जान्छ भने उत्पादनका हिसावले पनि धेरैगुना राम्रोे हुने पराजुलीको भनाइ छ ।

हामी कृषिमा आत्मनिर्भर बन्न नसकेको यथार्थ हो, राज्यले तराइलाई खाद्यान्नबालीमा र पहाडी क्षेत्रमा तरकारी तथा फलफुलमा जोडदिनुपर्ने पराजुलीको धारणा छ । उनि भन्छन—राज्यले कृषकलाई अनुदान दिने गरेको छ, अहिले राज्यले दिने गरेको अनुदान पहुँचवालाले पाएको र प्रत्यक्ष परिश्रम गर्नेले नपाएको पराजुलीको बुझाई छ । आफूले अनुदानको कुनै आशा नगरेको तर राम्रो काम गर्नसक्यो भने सबैको नजर पर्ने उनको विश्वास छ । युवाहरु विदेश पलायन हुनुमा परम्परागत खेति प्रणाली पनि एक हो, जब कि परिश्रम अनुसारको उत्पादन हुन सकेन । नेपालमा प्रशस्त मात्रामा जग्गा जमीन छन्, त्यसको भरपुर उपयोग गर्नसक्नुपर्छ ।

सरकारले जग्गा चक्लावन्दी गरेर कृषिपेशालाई प्राथमिकता दिने हो भने विदेशिने युवाहरुलाई पनि रोक्न सकिन्छ र तीन करोड नेपालीलाई नेपाल आमाले सजिलै पाल्न सक्ने पराजुलीको विश्वास छ ।

आफ्नै देशमा पसिना बगाएर परिवारसँग बसेर जीविकोपार्जन गर्न र नेपाललाई बढी मायाँ गर्न पराजुलीको आग्रह छ ।