सर्लाही । यस जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रू. ३ अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६/ ०७७ मा रू. ३ अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो ।

लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करीब १ हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यावस्थापन समिति लालबन्दीले बताएको छ ।

जिल्लाबाट ११ करोड ९५ लाख ६७ हजार १३५ किलो तरकारी बाहिरिएको उक्त कार्यालयले बताएको छ । कार्यालयका अनुसार गोलभेंडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी ५० प्रतिशत गोलभेडा बाहिरिने गरेको कार्यालयले बताएको छ ।

त्यस्तै पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र भिण्डी, काउली, बन्दा,भान्टा, घिरौंला, झिँगनी, लौका, फर्सी, मुन्गा र मुलालगायतका पाँच प्रतिशत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको कार्यालयले बताएको छ ।

तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिकरूपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् ।

परम्परागत अन्नबाली छोडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका सर्लाहीबासीले करीब १ हजार बिघा जमीनमा तरकारी खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले बताएको छ ।

रासस