तम्घास। गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो ।

गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री सङ्कलन गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो । महिला समूहले बनाएका मासको दाल र सेतो कर्कलोबाट निर्माण गरिएको मस्यौरा प्रतिकिलो रु. ३८० मा खरिद गरिदिने भएको छ । मूलाको सिन्की (गुन्द्रुक) प्रतिकिलो रु ४००, मूला सुकाएको चाना प्रतिकिलो रु ६०, बेसार सुकाएको चाना प्रतिकिलो रु. २८५, कोदो प्रतिकेजी रु. ३७ मा खरिद गरिदिने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै बोडी प्रतिकिलो रु. १५०, ग्रेडिङ गरेको मकै रु. ४०, खैरो भटमास र सेतो भटमासका लागि रु ७०/७० तथा खैरो गहतका लागि रु ९० गाउँपालिकाले मूल्य तोकेको छ । सङ्कलन गरिएका सामग्री सम्झौता गरेको संस्थाले बुटवल लैजाने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिनुभयो ।

रासस