रुद्राक्ष बिरुवाको फुल फुल्ने  परिवार अन्तर्गत पर्ने एक अग्लो, ठुलो फैलावट भएको सदावहार अनुपम वृक्ष हो । समुन्द्री सतहबाट करिव २००० मिटर उचाईसम्म यस्को खेति गर्न सकिन्छ । यो लामो पात भएको १५ देखि २० फिट अग्लो सदावहार हरियाली रहने वनस्पति अन्तर्गत पर्दछ । रुख ४ देखी ६ मिटर अग्लो भएपछि मुल हाँगा वा टुप्पो दुइपटक काट्नु पर्छ। यसो गर्दा रुख बलियो र धेरै फल लाग्ने हुन्छ । रुद्राक्षको एक वयस्क रुखबाट करिव ३०० केजी सम्म दाना फलेको पाइएको छ । एउटै रुखमा धेरै मुखे रुद्राक्षहरु फल्ने गर्दछन् । बिश्वमा प्राय: १ देखि १४ मुखेसम्मका रुद्राक्ष बढी मात्रामा पाइने गर्दछन् । तर, नेपालमा १ देखि ३८ मुखे सम्मका रुद्राक्ष पाइने गरेको एक अध्ययनले देखाएको छ । यसको खेतीको लागि मट्याइलो, पारिलो र घमाइलो जग्गा उपयुक्त मानिन्छ । सामान्यतया: रुद्राक्ष चिसो तथा तातो दुवै समयमा लगाउन सकिन्छ । तर, वर्षा सुरु हुनासाथ जेठ देखि असोजसम्म ७ देखी ९ मिटरको फरकमा रोप्दा राम्रो फल्ने गर्दछ । वैशाख जेठमा क्रिम कलरको बास्नादार फुल फुली उचाई र तापक्रम अनुसारको असोजदेखि माघसम्ममा रुद्राक्षको फल पाक्ने गर्दछ ।
नेपालको पूर्वदेखि पश्चिमसम्म, तराईदेखि मध्यपहाडी भुभाग सम्म सजिलै हुने रुद्राक्ष खेतीले एक उत्कृष्ठ नगदेबालीको पहिचान बनाएको छ । रोपेको ३ देखि ४ वर्षको अवधिमा यस विरुवाले फल दिन सुरु गर्छ। रुद्राक्षको दाना गाढा निलो रङ भएपछि पाकेर भुइमा खस्ने गर्दछ । प्रतेक रुखबाट वार्षिक करिव १ देखि २ हजार दानाहरु फल्ने गर्दछन् । एकपटक रोपेपछि उक्त विरुवाले पचासौ वर्षसम्म आम्दानी दिने भएकाले किसानहरु रुद्राक्ष खेतिप्रति आकर्षित  भएका छन् । हालै छिमेकी देश चिनमा यस्को माग बढेकाले नेपालमा रुद्राक्षको व्यापार ह्वात्तै बढेको पाईन्छ । चिनीया पर्यटकहरु किसानको घरमै पुगेर रुद्राक्ष खरिद गर्न थालेपछि किसानहरु यसको खेतीतर्फ आकर्षित हुदै आएका छन् । नेपालमा भोजपुर र सङ्खुवासभा जिल्ला तुलनात्मक रुपमा रुद्राक्ष खेतिमा अगाडि देखिन्छन् । यो जिल्लाका किसानहरुले रुद्राक्ष खेतीबाट मनग्य आम्दानी लिइरहेको पाइन्छ ।
रुद्राक्षका प्रकार :
क. एकमुखे रुद्राक्ष
एकमुखे रुद्राक्षको वर्णन शिवपुराणको रुद्राक्ष महात्मामा पाउन सकिन्छ । यसलाई भगवान शिवको प्रतिक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिसाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । एकमुखे रुद्राक्ष धारण गरेमा सुखशान्ति, सम्वृद्दि र ऐश्वर्य मिल्ने विश्वस गरिन्छ । लोकश्रुति अनुसार एउटा वोटमा यस्तो रुद्राक्ष १२ वर्षमा ३ वटा मात्र फल्ने गर्दछन् । जसमध्ये एउटा आकाश, एउटा पातालमा जान्छ भने अर्कोचाहि धर्तिमा रहने बिश्वास गरिन्छ । यो शिवरात्री, पुर्णिमा तथा विशेष पर्वमा मात्र प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
ख. द्वोमुखी रुद्राक्ष 
यो रुद्राक्ष सबै मनोकामनालाई पुरा गर्ने तथा दाम्पत्य जिवनमा सुख, शान्ति र सम्वृद्धि प्रदान गर्ने, अर्धनारीश्वरको रुपमा चिनिन्छ ।
ग. त्रिमुखी रुद्राक्ष ऐश्वर्य प्रदान गर्ने।
घ. चतुर्थमुखी रुद्राक्ष – धर्म, अर्थ, काम तथा मोक्ष प्राप्त गर्ने।
ङ. पञ्चमुखी रुद्राक्ष – सुख प्रदान गर्ने, सन्तान सुख।
च. षष्ठमुखी रुद्राक्ष – पापहरुबाट मुक्ति गर्ने तथा सन्तान सुख प्रदान गर्ने।
छ. सप्तमुखी रुद्राक्ष – दरिद्रता हटाउने, सप्तग्रह तथा शनिश्वरको स्वरुप।
ज. अष्टमुखी रुद्राक्ष – श्री गणेश, आयु तथा सकारात्मक उर्जा प्रदान गर्ने ।
झ. नवममुखी रुद्राक्ष – भगवती देवि दुर्गा, शक्ति प्रदान गर्ने, मृत्यु, भयबाट मुक्त गर्ने।
ञ. दशमुखी रुद्राक्ष – विष्णुको स्वरुप, शान्ति तथा सौन्दर्य प्रदान गर्ने।
ट. एघारमुखी रुद्राक्ष – भगवान रुद्र, विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने।
ठ. बाह्रमुखी रुद्राक्ष – भगवान नारायण र सुर्य ग्रह, धन प्राप्ति प्रदान गर्ने।
ड. तेह्रमुखी रुद्राक्ष- इन्द्र, कुवेर, कामदेव र पितृदेवता, शुभ र लाभ प्रदान गर्ने।
ढ. चौधमुखी रुद्राक्ष – हनुमानको प्रतिक, सम्पुर्ण पाप नष्ट गराउने।
रुद्राक्षको धार्मिक महत्व :
हिन्दु धर्मशास्त्रमा रुद्राक्षको छुट्टै वैदिक महत्व रहेको छ । जुन व्यक्तिले रुद्राक्ष लगाएको छ उसलाई मानसिक, शारिरिक र आध्यात्मिक उर्जाशक्ति मिल्ने हिन्दु धर्मालम्बिहरु बिश्वास गर्दछन् । विभिन्न मुखे रुद्राक्षको अतिरिक्त गौरीशंकर वा ज्वाला (दुईवटा जोडिएको), त्रिपाठ वि त्रिजुटी (तिनवटा जोडिएको), गर्भगौर, सवार जस्ता रुद्राक्षको दानाहरु निकै दुर्लभ मानिन्छन् र महङ्गो मुल्यमा बिक्रि हुने गर्दछन् । एक मुखे रुद्राक्षलाई भगवान शिवको अवतारको रुपमा लिइन्छ जसलाई रुद्राक्षको शिरोमणी पनि भनिन्छ । एउटै रुखमा फरक आकारका दाना हुने भएकाले बिभिन्न रुखबाट एउटै आकारका दाना बनाएर माला उन्ने गरिन्छ। रुद्राक्षको १०५ वटा दाना मिलाएर बनाइएको पुर्ण माला, ५४ वटा दानाबाट बनाइएको लाई  अर्धमाला र २७ वटा दाना मिलाएर बनाइएकोलाई नक्षत्रमाला भनिन्छ । यसरी बनाइएका मालाको केन्द्रमा एउटा ठुलो रुद्राक्षको दाना राखिएको हुन्छ जसलाई सुमेरुदाना भनिन्छ । त्यसै गरि २१ मुखे दानालाई सुमेरु बनाई  तयार गरिएको मालालाई इन्द्रमाला भनिन्छ । जप गर्दा गणना गर्ने मन्त्रका लागि रुद्राक्ष मालाहरुको प्रयोग गरिन्छ । रुद्राक्षलाई पृथ्वी र स्वर्ग जोड्ने र मानिस र देवता जोड्ने पवित्र साधनाको रुपमा पनि लिइन्छ । हरेक दिन सुर्योदय पुर्व र सूर्यास्त पश्चात रुद्राक्षको माला जप गर्नाले शरिरका नकरात्मक विकिरणहरु नाश हुने र आध्यात्मिक सुख प्राप्त हुने बिश्वास गरिन्छ ।
ओषधिजन्य/आयुर्भेदिक महत्व :
रुद्राक्षको धार्मिक मात्र नभई वैज्ञानिक महत्व पनि उत्तिकै रहेको छ। उच्च रक्तचाप, दम, मानसिक असन्तुलन, पाठेघरको विरामी, मधुमेह, उच्च रक्तचापको बिरामीको उपचारका लागि यसको वोक्रा औषधिको रुपमा प्रयोग गरिन्छ । रुद्राक्षमा धेरै आयुर्वेदिक गुणहरू रहेको अनुसन्धानले पुष्टि गरेको छ ।  रुद्राक्षको दाना बोक्रा र पातहरू मानसिक विकारहरू हटाउन, टाउको दुख्ने, ज्वरो, छाला रोग जस्ता रोगहरुको उपचार गर्न प्रयोग गरीन्छ । यसका साथै, रुद्राक्षको दाना स्मरण शक्ति सुधार गर्न, रगत शुद्धिकरणको र दिमाग सम्बन्धि रोगहरुको उपचार गर्न प्रयोग गरिन्छ । रुद्राक्ष फल र यसको बोक्रा मिर्गी/छारे रोग उपचारका लागि प्रयोग गरिन्छ । रुद्राक्षको दाना जलेको घाउहरुको दागहरु हटाउन पनि लागि प्रयोग गर्न सकिन्छ । यो खोकिको उपचार र सास फेर्न समस्या भएका बिरामिका लागि उपयोगी मानिन्छ । यसका साथै, कलेजो सम्बन्धी समस्याहरू, अमलपित्त रोगको उपचार गर्न र पेट दुख्ने समस्याहरुमा समेत यसको प्रयोग गरिन्छ ।
लेखक : सबिना देबकोटा