एजेन्सी। चामलको भाउ ७ वर्षकै उच्च विन्दुमा उक्लिएको छ । कोरोना भाइरसको महामारीका कारण आयातकर्ताहरू चामल भण्डारण बढाउन लागेका छन् भने निर्यातकर्ताहरूले निर्यातमा कडाइ गरेका छन् ।

यस्तोमा माग बढेसँगै मूल्य पनि बढेको हो । थाइ चामल निर्यातकर्ताहरुको संगठनका अनुसार ५ प्रतिशत टुक्रिएको चामलको मूल्य मार्च २५ देखि अप्रिल १ को बीचमा १२ प्रतिशतले बढेको छ ।

चामलको मूल्य अहिले सन् २०१३ को अप्रिल अन्त्ययताकै उच्च बिन्दुमा पुगेको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सको तथ्यांकले देखाएको छ । भारत, भियतनाम जस्ता ठूला चामल निर्यातकर्ता देशहरुले कोभिड–१९ को महामारीका कारण रणनीतिक खाद्यान्नको रुपमा रहेको चामल निर्यातमा कडाइ गरेपछि विश्व बजारमा थाइ चामलको माग बढ्ने अपेक्षासँगै भाउ बढेको हो ।

विश्वभर आपूर्ति हुने चामलको करीब ९० प्रतिशत चामल एशियामा उत्पादन हुने गरेको छ । श्रमिक अभाव बढेसँगै भारतीय व्यापारीहरुले नयाँ निर्यात करार बन्द गरेका छन् । लजिष्टिकमा आएको अवरोधका कारण विद्यमान करारकै पनि डेलिभरी हुन सकेको छैन ।

भियतनामले भने चामल निर्यातमा रोक नै लगाएको छ । मार्चमा मूल्य बढ्नु भन्दा अघि नै थाइल्याण्डमा चरम सुख्खा र एशिया एवम् अफ्रिकी आयातकर्ताहरुको मागमा भएको वृद्धिका कारण सन् २०१९ को अन्त्यतिर नै चामलको भाउ बढ्न थालेको थियो । भारत पछि थाइल्याण्ड विश्वको दोस्रो ठूलो चामल निर्यातकर्ता हो । भियतनाम चाँहि तेस्रो ठूलो निर्यातकर्ता हो ।