सर्लाही। सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेडले किसानबाट खरीद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रू. ३५ करोड भुक्तानी गरिसकेको छ ।

उद्योगले हरेक १५/१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । पहिलो चरणमा रू. २३ करोड र दोस्रोमा रू. ३५ करोड गरी कुल ५८ करोड भुक्तानी दिनुपर्नेमा हालसम्म कुल रू. ३५ करोड मात्र भुक्तानी गरेको इन्दुशंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार नेपालमा रहेका अरु चिनी उद्योगको तुलनामा सबैभन्दा राम्रो भुक्तानी दिने एक मात्र उद्योग इन्दुशंकर चिनी उद्योग हो ।

गत सिजनको नेपाल सरकारबाट पाउनुपर्ने अनुदानवापतको रकम रू. ६५ दशमलव २८ का दरले हुनआउने रू. २२ करोड ८३ लाख ७१ हजार अहिलेसम्म पनि नपठाएका कारण इन्दुशंकर चिनी उद्योग लिमिटेड बदनाम भएको रकजको भनाइ छ । सरकारले दिने अनुदानवापतको रकम नदिएको भन्दै जिल्लाका धेरै किसानले उखुखेती गर्न छाडेको उद्योगले बताएको छ ।

आफूहरुले किसानलाई समयमै चेक दिएको भए पनि बैंकले समयममै भुक्तानी नदिँदा किसान मारमा परेको रजकले बताए । एनआइसी एशिया बैंकले किसानलाई रकम निकासा दिन ढिलासुस्ती गर्दा उखु किसान मारमा परेको उनको भनाइ छ । आफूहरुले माथिल्लो निकायसम्म छलफल गरिरहेको एनआइसी एशिया बैंक हरिवनका शाखा प्रबन्धक सुमन सिंहले बताए । खाता नम्बर यकिन गरी काम गर्न २/३ दिन लाग्ने भएका कारण ढिला भएको उनले बताए । छुट्टै काउन्टर बनाएर उखु किसानलाई सेवा दिने कामसमेत शुरु गरिएको उनले बताए ।

कुल ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्यका साथ सञ्चालन शुरु गरेको उद्योगले ब्लक बनाएर उखु क्रसिङ गरिरहेकामा हालसम्म २३ लाख क्विन्टल उखु क्रसिङ गरी सकिएको रजकले बताए । अघिल्लो वर्षको बक्यौता नरहेका चिनी उद्योगले चालू सिजनमा किसानबाट खरीद गरेको उखुको भुक्तानी धमाधम दिन शुरु गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उद्योगले उखु किसानलाई भुक्तानी दिन शुरु गरे पनि सरकारबाट पाउने रकममा आलटाल भइरहेको मैनालीले बताए ।

किसानलाई एकातिर उखुको भुक्तानी नपाउने चिन्ता रहिरहेको समयमा खेतमा रहेको उखु क्रसिङ गर्न कृषि मजदुर नपाउने समस्या त्यत्तिकै छ । जसका कारण उखु उत्पादक किसानले समयमै उखु काटेर चिनी उद्योगसम्म पुर्‍याउन नसक्दा उखु खेतमै सुक्न थालिसकेको छ ।

वर्षदिनभरि मेहनत गरेर उत्पादन गरेको बाली मुखमा आएर खेतमै सुक्ने अवस्थामा पुग्दा किसान थप मारमा परेका छन् । गाउँघरमा रहेका युवाशक्ति स्वदेशमा रोजगारीको सिर्जना नभएको भन्दै विदेश गएपछि अहिले गाउँमा युवा मजदुरको अभाव छ । गाउँमा कृषि मजदुरको अभाव भएपछि काम लगाउने ठेकेदारले आफ्नो मनोमानीमा ठेक्का लिने गरेका कारण आफूहरु थप मारमा परेको किसानको गुनासो छ ।