पाल्पा। परिवारको आर्थिक अवस्था नाजुक हुँदा स्नातक तह पढ्दै गर्नुभएका रामपुर नगरपालिका–८ बस्ने जगतबहादुर सेनलाई विदेशिनु पर्ने बाध्यता आइलाग्यो । मनमा पढ्ने रहर भए पनि घरखर्च चलाउनै नसक्ने अवस्था सिर्जना भएपछि उहाँ अध्ययनलाई बीचमै छाडेर विदेशिनु भयो । तीन वर्ष विदेश बस्दा खासै कमाउन सक्नुभएन । जसोतसो विदेश जाँदाको लगानी उठाएर गाउँ फर्कनुभयो ।

गाउँ फर्के लगत्तै बाख्रापालन व्यवसाय थाल्नुभयो । रामपुर नगरपालिकाले अनुदान सहयोग गरेपछि आफू ऊर्जा थपिएको उहाँ बताउनुहुन्छ । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम अन्र्तगत उहाँलाई दुई वर्षसम्म रु तीन लाखको ब्याज अनुदान उपलब्ध गराउने भएको छ ।

“बाख्रापालन व्यवसायलाई अगाडि बढाउन नगरपालिकाले अनुदानमा ऋण लगानी गरेपछि व्यवसायमा हौसला मिलेको छ, हाल ५० माउ बाख्रा सहित ७० वटा बाख्रा छन्, अब बढाएर १०० भन्दा बढी बनाउने सोच छ,” सेनले भन्नुभयो ।

गाउँमै बसेर व्यवसाय गरियो भने अनुदान पनि पाइने, खेर गएका पाखापखेरा आम्दानीका राम्रा स्रोत बन्ने उहाँको ठम्याइ छ ।

त्यसैगरी, रामपुर नगरपालिका वडा नं ५ बस्ने युवक सागर रेग्मीले भैंसीपालन व्यवसायका लागि रु आठ लाख ऋण बैंकबाट लिनुभएको छ ।
बैंकबाट लिएको आठ लाख ऋणको दुई वर्षसम्म नगरपालिकाले ब्याज बुझाइदिने भएपछि काममा जाँगर बढेको रेग्मी बताउनुहुन्छ । उहाँले पनि वैदेशिक रोजगारबाट फर्केर भैंसीपालन व्यवसाय गर्नुभएको छ ।

“विदेशबाट फर्केर गाउँमै केही गर्छु भन्ने हामीजस्ता युवाका लागि यो कार्यक्रमले उर्जा थप्ने काम गरेको छ, दुई वर्षसम्म आठ लाखको ब्याज नगरपालिकाले तिरिदिने भएपछि कृषकलाई ठूलो राहत भएको छ,” उहाँले भन्नुभयो ।

नगरपालिकाले उपलब्ध गराएको ब्याज अनुदानले फार्म व्यवस्थापन तथा भैंसीमा लगानी गर्ने उहाँको योजना छ । सेन र रेग्मी जस्ता वैदेशिक रोजगारबाट फर्केका र जान खोजिरहेका युवालाई यो कार्यक्रमले व्यवसाय गर्न सहयोग गरेको छ ।

नगरपालिकाले पहिलो प्राथमिकतामा नयाँ व्यवसाय गर्न चाहने युवालाई राखेको छ भने निरन्तर रुपमा व्यवसाय गरेका युवालाई व्यवसाय सुधार तथा स्तरोन्नतिका लागि दोस्रो प्रांथमिकतामा राखेर ब्याज अनुदानका लागि सिफारिश गरेको छ ।

बाहिरबाट तरकारी, फलफूल, मासु तथा कृषि उपजलाई रामपुर भित्रन निरुत्साहन गर्न नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम ल्याएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“रामपुर नगरपालिकालाई कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउने र स्थानीय उत्पादनलाई प्राथमिकता दिने, वैदेशिक रोजगारमा जाने युवालाई गाउँमै बसेर काम गर्न प्रेरणा मिलोस् भन्ने ध्येयले यो कार्यक्रम शुरु गरेका हौं,” नगर प्रमुख थापाले भन्नुभयो ।

नगरपालिकाभित्रका ९२ व्यवसायीले यस कार्यक्रममा आवेदन दिएका थिए । उनीहरुको व्यवसाय अनुमगन तथा मूल्याङ्कन गरेर ३० युवा उद्यमीलाई मात्र छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताउनुभयो । नगरपालिका आफैंले कार्यविधि बनाएर युवा उद्यमी छनाट गरी ब्याज अनुदानका लागि सिफारिश गरिएको हो ।

गत आर्थिक वर्ष विनियोजन गरिएको रु. ५० लाख रकमबाट यो वर्ष व्यवसाय गर्न चाहने युवा उद्यमीलाई दुई वर्षसम्मका लागि ऋण अनुदान नगरपालिकाले उपलब्ध गराउने युवा स्वरोजगार कार्यक्रमका सदस्य सचिव तथा नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिनुभयो ।
कुखुरा फार्म, भैंसी फार्म, बाख्रा फार्म, गाई फार्म, बंगुर फार्म र आलुको बीउ उत्पादन गर्ने व्यवसायीलाई ऋण अनुदान उपलब्ध गराउन छनोट गरिएको सूचना अधिकारी पाण्डेयले बताउनुभयो ।

“कृषकले समितिले तोकेको कार्यविधि अनुसार व्यवसाय गर्नुपर्नेछ, दुई वर्षसम्म जुनसुकै बैंकबाट ऋण लिए पनि नगरपालिकाले ब्याज अनुदान दिनेछ, एउटा व्यवसायका लागि रु। १२ लाखसम्म बढीमा अनुदान दिइनेछ,” पाण्डेयले भन्नुभयो । अहिले छनोटमा परेका व्यवसायीले रु। दश लाखसम्म बैंकबाट ऋण लिएका छन् ।

तरकारी, फलफूल खेती, नर्सरी स्थापना वा नवीन कृषि प्रविधिको हकमा व्यक्तिगत कम्तिमा दुई रोपनी जग्गामा एकै खेती वा सामुहिक रुपमा दश रोपनीमा खेती गरेको हुनुपर्नेछ कार्यविधिमा उल्लेख छ ।

कुखुरापालनका लागि व्यक्तिगत कम्तीमा ५०० कुखुरा र सामूहिक कम्तीमा तीन हजार कुखुरा (लेयर्स जातको हकमा दुई हजार) पाल्ने योजनासहित कुखुरा अट्ने भौतिक संरचना भएको वा सोही संरचना बन्ने जग्गा हुुनुपर्नेछ ।

माछा पोखरीको हकमा व्यक्तिगत दुई रोपनी र सामूहिक दश रोपनीमा हालसालै निर्माण भएको वा निर्माण गर्न सक्ने जग्गा हुनुपर्नेछ ।

बाख्रापालनको हकमा व्यक्तिगत १० माउ र सामूहिक १०० वटा बाख्रा पाल्नुपर्ने, मौरीपालनका लागि व्यक्तिगत २० घार र सामूहिक १०० घार हुनुपर्ने, च्याउ खेतीका लागि व्यक्तिगत तीन डुमहाउस र सामूहिक दश डुमहाउस, बङ्गुरपालनका लागि व्यक्तिगत पाँच माउ र सामूहिक २५ माउ हुनुपर्ने, गाईभैंसीका लागि व्यक्तिगत पाँच माउ र सामूहिक २० माउ हुनुपर्नेछ ।

यस कार्यक्रममा २१–५० उमेर समूहका व्यक्तिलाई मात्र समावेश गरिएको छ । चालु आर्थिक वर्षमा पनि नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमकै लागि रु। ४० लाख रकम विनियोजन गरिसकेको नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले बताउनुभयो ।