ललितपुर। हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी (हिकास्ट) कलेजमा विद्यार्थीको आन्दोलका कारण पठनपाठन ठप्प भएको छ। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कलेजले भर्ना शुल्क चर्को लिएको भन्दै आक्रोशित विद्यार्थीको आन्दोलनका कारण कृषि र भेटरिनरी दुवै संकायको पठनपाठन ठप्प भएको हो।
क्याम्पसले विद्यार्थीसँग गरेको सहमतिविपरीत बर्सेनि २५ प्रतिशतका दरले शुल्क बढाएको विद्यार्थीको गुनासो छ। करिव तीन वर्षअघि क्याम्पस प्रशासन र विधार्थीबीच प्रत्येक वर्ष १० प्रतिशतका दरले मात्रै शुल्क बढाउने सहमति भएपनि क्याम्पसले सहमति लत्याउदै मनपरी शुल्क असुल गरेकाले आन्दोलन गर्न बाध्य भएको विद्यार्थीको भनाइ छ।
पठन पाठन र गुणस्तर ध्यान दिनुभन्दा पनि नाफामुखी बन्दै गएको भेटरिनरी संकायका सातौँ सेमेस्टरका विद्यार्थी एवं अखिल क्रान्तिकारीका विधार्थी निश्चल घिमिरेले बताए। भर्ना शुल्क घटाउन भन्दै विद्यार्थीले विभिन्न चरणका आन्दोलन गर्दा कलेजले भेटरिनरी संकाय नै बन्द गरिदिने चेतावनी दिएको कलेजका अनेरास्ववियुका अध्यक्ष नवीन पन्थीको बताए।
भेटेनरी संकाय पढ्नका लागि तीन वर्ष अघि १० लाख रुपैयाँ तिर्नुपर्नेमा अहिले १५ लाख ४५ हजार रुपैयाँ पुर्याएको भन्दै आक्रोशित बनेका विद्यार्थीले कलेजमा बुधबारदेखि अनिश्चितकालिन तालाबन्दी गरेका छन्।









