बैतडी। गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजीकीराले गहुँबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
जिल्लाको गहुँ फल्ने मुख्य खेतका रूपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताए। खेतमा लगाएको गहुँ फौजीकीराले पूरै नष्ट गरेको छ। पाटनको सेरोको नामले प्रख्यात खेतमा फौजीकीराले गहुँमा आक्रमण गरेकाले गहुँको उत्पादनमा कमी आउने किसानले बताएका छन्।
गहुँबालीमा फौजीकीराले आक्रमण गरेको विषयमा जानकारी भएको र नियन्त्रणका प्रयास भइरहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। ३ सय ५० हेक्टरमा लगाइएको पाटनमा ५० भन्दा बढी किसानको खेत रहेको सेरामा फौजी कीराको प्रकोप देखिएको हो।
गहुँबालीमा फौजीकीरा प्रकोपका विषयमा कृषि प्राविधिकहरूले अध्ययन गरेर माथिल्लो निकायमा पठाइसकेका छौँ। उनले भने, “गहुँमा बाला लाग्ने समयमा फौजी कीराको प्रकोप देखिएकाले नियन्त्रण गर्न भने निकै कठिन हुनेछ।” गहुँ फल्ने मुख्य खेतमा फौजीकीराको प्रकोप देखिएकाले यो वर्ष गहुँ उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ।
गहुँको उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित कृषि ज्ञान केन्द्र बैतडीले दार्चुला र बैतडीका विभिन्न ठाउँका किसानलाई निःशुल्क उन्नत जातको गहुँको बीउ वितरण गरेको थियो। बैतडीमा २१ हजार ९ सय हेक्टर जमिनमा गहुँ खेती हुँदै आएको छ।









