पाल्पा। पाल्पा जिल्लामै पहिलो पटक नयाँ प्रजातिको मलाई नामक घाँस उत्पादन सुरु भएको छ । रामपुर नगरपालिका ६ स्थित श्रीकृष्ण उन्नत भैसी विकास विउविजन स्रोत केन्द्रमा परिक्षणका लागि सुरु गरिएको घाँसको उत्पादन सफल भएको छ ।
स्रोतकेन्द्रका संचालक कृष्णकुमार अर्याल र मिना अर्यालले नयाँ प्रजातिको घाँस लगाउनुभएको हो । भारतबाट बिउ खरीद गरी तीन महिना अघि छरेको घाँस अहिले उत्पादन लिइरहेको कृष्णकुमार अर्यालले बताउनुभयो ।
परिक्षणका लागि लगाइएको नयाँ प्रजातिको मलाई घाँसको उत्पादन अत्यन्त पाइएको छ । अर्यालले करिव तीन रोपनी क्षेत्रफलमा १७ किलो घाँस लगाउनुभएको छ ।“नयाँ प्रजातिको घाँस कस्तो हुन्छ भनेर परिक्षणका लागि मात्र ल्याएर लगाएको अत्यन्तै राम्रो लाग्यो” उहाँले भन्नुभयो । अहिले उहाँको स्रोतकेन्द्रमा घाँस हेर्न जानेको चहलपहल बढेको छ ।
नयाँ नयाँ कुरामा निकै जिज्ञासा राख्ने अर्यालले नयाँ घाँसको बिउ खोजी गर्ने क्रममा यो घाँस फेला परेको बताउनुभयो । मलाई घाँस पशुका लागि अत्यन्तै पोषिलो मानिने मानिन्छ ।“यस घाँसको सेवनबाट पशुले दुध उत्पादन बढाउँदै गएको छ, पशुआहाराका लागि अत्ति उत्तम रहेको छ” अर्यालले भन्नुभयो ।
छरेको ३० देखि ४० दिन भित्रमा उत्पादन लिन सकिन्छ ।
थोरै ठाउँमा धेरै उत्पादन लिन सकिने हुदा कृषकले यस घाँसबाट राम्रो लाभ लिन सक्छन् । अन्य घाँसको तुलनामा मलाई घाँस दुधालु पशुका लागि उत्तम मानिने पशुस्वास्थ्य प्राबिधिकहरु बताउँछन् ।
तस्वीर : सुशीला रेग्मी / रासस









