ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले मातहतका कर्मचारीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् ।
मन्त्रालय मातहतको योजना तथा विकास सहायता समन्यय महाशाखाको प्रथम चौमासिक समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले हरेक निकायलाई परिचालन गरी कामको गति बढाउन निर्देशन दिएका हुन् ।
मन्त्रालयबाट सोचेअनुसारको प्रगति हुन नसकेकोमा असन्तुष्टि जनाउदै मन्त्री खनालले विभागीय प्रमुखहरुलाई काम गर्न सकिदैन जस्तो लाग्छ भने खुशीसाथ जिम्मेवारीबाट बाहिरिन आग्रह गरे । ‘विभागिय प्रमुखमा रहेका तपाईहरुलाई मन्त्रीको स्प्रिटमा काम गर्न सकिदैन जस्तो लाग्छ भने खुशी साथ छोड्दा हुन्छ, काम नगर्नेलाई हेरफेर गरिन्छ, मन्त्री खनालले भने, ‘होइन भने त्यही अनुसार काम गर्नुस् ।’ प्रथम चौमासिक प्रगति विवरण सोचेअनुसार हुन नसकेको भन्दै मन्त्री खनालले कर्मचारीहरुलाई तर्कभन्दा परिणाममा ध्यान दिन आग्रह गरे ।
योजना तथा विकास सहायता समन्यय महाशाखाको प्रथम चौमासिक विवरण अध्ययनका लागि यसैसाथ समावेश गरिएको छ ।









