ललितपुर। भान्सामा सबैभन्दा धेरै खपत हुने आलुको मूल्य अकासिएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नयाँ आलुको खुद्रा मूल्य न्यूनतम ८५ रुपैयाँ प्रतिकिलो तोकेको छ । त्यहाँबाट राजधानीका साना–ठूला बजार र पसलमा लगेर बिक्री हुने आलु प्रतिकिलो सय रुपैयाँसम्म पुगेको छ ।

चार महिनाको अवधिमा आलुको मूल्य दोब्बर वृद्धि भएको हो । चालू आव ०७५/७६ को सुरुबाटै आलुको मूल्यमा निरन्तर वृद्धि हुँदै आएको छ । ११ असारमा आलु ४८ रुपैयाँ प्रतिकिलो थियो ।

चार महिनापछि ११ कात्तिकमा सय पुगेको हो । दसैँअघिको मूल्यमा करिब ७० प्रतिशतले वृद्धि भएको छ । दसैँअघि १२ असोजमा कालिमाटीमा आलुको खुद्रा मूल्य प्रतिकिलो ६८ रुपैयाँ थियो । दसैँ सकिएलगत्तै ७ कात्तिकमा बढेर ७३ रुपैयाँ प्रतिकिलो पुग्यो । आइतबार कालिमाटीमा ८५ रुपैयाँ प्रतिकिलोमा किनबेच भएको छ ।

किसानले उत्पादन गरेको नयाँ आलुको न्यून परिमाण भर्खरै बजारमा प्रवेश गर्न लागेका कारण मूल्य आकासिएको व्यवसायीको भनाइ छ । पुरानो आलु सकिएको र नयाँ आलुसमेत खपतअनुसार आपूर्ति हुन नसक्दा भारत, बंगलादेश र भुटानबाट आयात भइरहेको कालिमाटीका थोक विक्रेता उज्ज्वल कार्कीले बताए । ‘किसानले बारीमा लगाएको आलु थोरै परिमाणमा भर्खरै बजार प्रवेश गर्न थालेको छ,’ उनले भने, ‘जसकारण आयातमा आलुको बजार निर्भर छ । विदेशमा आलु महँगो भएका कारण नेपाली बजारमा पनि मूल्य आकासिएको हो ।’

व्यवसायीका अनुसार देशभर दैनिक दुई लाख १० हजार किलो आलु खपत हुन्छ । अहिले ९० प्रतिशत आयातित आलुले बजार लिइरहेको व्यवसायीले जनाएका छन् ।

थोकमै बढेको छ भाउ :
व्यवसायीका अनुसार नयाँ आलुको थोक मूल्य नै बढेको छ । कालिमाटीका थोक विक्रेता कार्कीले काभ्रेको नाला र काठमाडौंको साँखुका किसानलाई प्रतिकिलो ६०–६२ रुपैयाँ दिएर आलु खरिद गरिरहेको बताए । ‘यतिवेला नयाँ आलु बिक्री गर्ने किसानले राम्रो पैसा पाइरहेका छन्, त्यसैले बजारमा उपभोक्ता मूल्य पनि बढेको हो,’ उनले भने । त्यस्तै, भारतीय आलुको थोक मूल्य प्रतिकिलो ३५ देखि ४० रुपैयाँ परिरहेको उनले बताए ।

भारत, बंगलादेश र भुटानबाट आलु आयात :
दसैँअघि काभ्रेको नालादेखि दैनिक करिब ५ सय बोरा (६० किलो दरका) आलु काठमाडौं आइरहेको छ । आइतबारबाट साँखुको आलु पनि ५ सय बोरा आएको छ । अहिले काठमाडौंमा यी दुई ठाउँबाहेक देशका अन्य भागबाट आलु आपूर्ति भएको छैन ।

कालिमाटीका थोक व्यापारी प्रकाश गजुरेलका अनुसार उपभोक्ताको मागलाई भारत र भुटानको आलुले धानिरहेको छन् ।

बंगलादेशबाट आयात भएको आलु सकिन लागेको छ । ‘दसैँमा सबैभन्दा बढी भुटानी आलुको माग हुने गर्छ,’ उनले भने, ‘त्यहाँका आलु ठूला, पानी कम भएका र चिप्स बनाउन साहै्र उपयुक्त हुन्छन् ।’ बजारमा अहिले देखिने सफा र चम्किला आलु भुटानी भएको उनले बताए । भुटानी आलु काठमाडौंमा मात्र हप्तामा ४–५ गाडी आउने गर्छ । एक गाडीमा २१ टन आलु हुन्छ । भुटानी आलुको बजार हिस्सा १० प्रतिशत छ ।

बंगलादेशबाट आउने आलुको गुणस्तर सबैभन्दा राम्रो हुने गरेको व्यवासयीको भनाइ छ । कोल्डस्टोरमा राखे बंगालादेशी आलु लामो समयसम्म नकुहिने व्यवसायी बताउँछन् । बंगलादेशबाट असार, साउन र भदौमा आलु आयात हुन्छ । अहिले त्यहाँबाट आयात गरिएको आलुको भण्डारण लगभग सकिएको गजुरेलले बताए । बंगलादेशबाट कुल खपतको ५ प्रतिशत आलु आउने गर्छ ।

भारतबाट भने कोल्डस्टोरमा राखिएका आलु आयात भइरहेका छन् । कोल्डस्टरमा राखिएका आलुको गुणस्तरमा ह्रास आउँछ । ‘भारतीय आलु गुलियो बढी हुने, पानी कम भई चिप्स बनाउन नमिल्ने खालका छन्,’ गजुरेलले भने । सबैभन्दा बढी करिब ७५ प्रतिशत आलु भारतीय नै खपत भइरहेको छ ।

स्वदेशी उत्पादनले तीन महिना धान्दैन :
मुलुक आलुमा लगभग परनिर्भर छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७४र७५ मा ३० लाख ८८ हजार टन आलु उत्पादन भएको थियो । ‘नेपालमा उत्पादन भएको आलुले तीन महिना पनि धान्दैन,’ कालिमाटी तरकारी बजारका थोक विक्रेता उज्ज्वल कार्कीले भने, ‘वर्षैभर आलु आयात गरिरहनुपर्ने बाध्यता छ ।’ व्यवसायीका अनुसार देशभर दैनिक २१ टन क्षमताका १० वटा गाडीमा आलु आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक बर्ष ०७५–७६ को तीन महिना (असार, साउन र भदौ) मा दुई अर्ब ३१ करोड २५ लाख रुपैयाँको आलु आयात भएको छ ।

तिहारपछि मूल्य घट्छ :
व्यवसायीले तिहारपछि स्वदेशी आलु प्रशस्त मात्रामा आउने र मूल्य घट्ने बताए । तिहारलगत्तै आलुको मूल्य प्रतिकिलो ४०–४५ मा झर्ने व्यवसायीहरूको अनुमान छ ।

तिहारपछि काभ्रेको पनौती, पाँचखाल, धुलिखेल तथा सिन्धुपाल्चोकको मुडे, मकवानपुरको पालुङलगायत ठाउँबाट आलु आउने र मूल्य घट्ने व्यवसायी बताउँछन् । काठमाडौंको बजारमा स्वदेशी उत्पादनतर्फ सबैभन्दा बढी काभ्रेबाट ५० प्रतिशतसम्म आलु आउने गर्छ ।