उर्लाबारी। गत वर्षको साउन २८ गते आएको बाढीले भत्काएको लोहन्द्रा खोलाको पुल यो वर्ष नबन्ने भएपछि किसान चिन्तित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजनाको चतरा मूल नहर माथिबाट बग्ने लोहन्द्राको पुल बाढीले बगाउँदा नहरको साइफन (खोलामुनिबाट नहरको पानी लैजाने पैनी) बगेपछि लोहन्द्रा पूर्वको १२ हजार ३६५ हेक्टर जमिन सिँचाइबाट वञ्चित भएको थियो ।
मोरङमा धान उत्पादनका लागि अब्बल मानिएको क्षेत्रमा नै सिँचाइको अभाव भएपछि आयोजनाले चार महिनापछि पाँच किलोमिटर उत्तरबाट अस्थायी कुलो बनाएर पानी नहरमा हालेको छ तर उक्त अस्थायी संरचना बाढीले कुनै पनि समय भत्काउन सक्ने कानेपोखरीको झमनपुर नहर शाखाका अध्यक्ष खङ्गलाल शाहले बताउनुभयो । उहाँले भन्नुभयो, अस्थायी बाँध बनाएर पानी मूल नहरमा हालिएको छ तर यो व्यवस्थाले किसानको समस्या समाधान हुँदैन । पक्की बाँध बनाएर पानी नहरमा नहाले वर्षायाममा फेरि किसानलाई धोका हुने उहाँले बताउनुभयो ।
सुनसरीको चतरादेखि मोरङको केरौनसम्म मुख्य नहर ५३ किलोमिटर लामो छ । जसमध्ये ४२ किलोमिटरमा पर्ने कसेनी भन्ने स्थानमा लोहन्द्रा खोला र मुख्य नहरको भेट हुन्छ । यही स्थानमा लोहन्द्रा खोला माथिबाट बग्छ भने यसमुनिबाट साइफन (सुरुङ बनाएर तल सुरुङैसुरुङ) मुख्य नहर लगिएको थियो । १५३ मिटर लामो साइफन माथिबाट बग्ने लोहान्द्राको पुल बगाएपछि केरौन चौकबाट इटहरी–विराटनगर सडक खण्डको खनारसँग जोड्ने सडकमा समेत यातायात बन्द छ ।
लोहन्द्रा पुल बगाउँदा झण्डै ३४ करोड क्षति भएको सुनसरी मोरङ सिँचाइ आयोजनाका डिभिजन इन्जिनियर श्रीप्रसाद साहले बताउनुभयो । उहाँका अनुसार यस वर्ष पुनर्निर्माणको डीपीआर मात्र तयार भएको छ । निर्माणका लागि ३० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको साहले जानकारी दिनुभयो ।
उता सुनसरी मोरङ सिँचाइ आयोजना चतरा मूल नहर उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद मेहताले मन्त्रालय र विभागले वर्षमा दुई पटक कार्यालय प्रमुख परिवर्तन गरिदिँदा पुल निर्माणको टेन्डर आह्वान हुन नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, खोलामा जथाभावी ढुङ्गा, बालुवा खानी सञ्चालन भएका छन् । जसले गर्दा खोला गहिरिएर गएका छन् । उहाँले लोहन्द्रा पुल मात्र होइन, ठूला खोला क्रस गरेर बनाइएका साइफन र पुलहरू उच्च जोखिममा रहेको जानकारी दिनुभयो ।
उहाँले पुलको सुरक्षाका लागि बेलैमा काम नभए आउने बाढीले अरू पुल पनि भत्काउने चेतावनी दिनुभयो । मोरङ र सुनसरी देशकै प्रमुख अन्न भण्डार हुन, यहाँको सिँचाइ व्यवस्थालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।
आयोजनाले सुनसरी र मोरङको ६८ हजार हेक्टर जमिन सिञ्चित हुने गथ्र्यो । आयोजनाअन्तर्गत एउटा मुख्य र २२ शाखा नहर रहेका छन् ।